प्रधानमन्‍त्री ओलीले गरे मन्‍त्रिपरिषद् विस्तार : को बने नयाँ मन्‍त्री, कसकाे मन्‍त्रालय फेरियो ?


पुष १०, २०७७


काठमाडौं : शुक्रबार प्रधानमन्त्री केपी ओलीले  मन्त्रिपरिषद् विस्तार गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको निर्णय गरे लगत्तै केही मन्त्रीले राजीनामा गरेपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 

संसद् विघटनको समर्थन गर्ने र विरोध गर्ने गरेर सत्तारुढ नेपाल कम्युनिटस्ट पार्टी (नेकपा)मा दुई समूह बनेको छ । पार्टी  विभाजनको संघारमा पुगेपछि ओलीले अर्को पक्षका केही प्रभावशाली नेतालाई मन्त्री बनाएका छन् । 

यसरी मन्त्री बन्नेका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ (लामा) पूर्व माओवादीका नेता हुन् । 

मन्त्रिपरिषद् विस्तार गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारीसमेत हेरफेर गरेका छन् । 

मन्त्रिपरिषद् विस्तार भएसँगै टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहकारी विकास मन्त्री बनेका छन् ।  त्यसैगरी  प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री गौरी शंकर चौधरी श्रम, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने जुली कुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् । 

त्यसैगरी केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको  जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठी  स्वास्थ्य मन्त्री बनेका छन् । 

लीलानाथ श्रेष्ठ कानुन मन्त्री बन्दा शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्री बनेकी छन् भने पद्मा अर्याल कृषि मन्त्री  बनेकी छन् ।  कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री  बनेका छन् भने विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।  

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।  

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="