लकडाउनको एक वर्ष: जोखिम फेरि पुरानै अवस्थामा


चैत ११, २०७७


काठमाण्डाै । कोरोना सङ्क्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । पटकपटक गरी चार महिनासम्म लकडाउन भयो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले ।

सबै क्षेत्रमा चहलपहल बढ्यो । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ । कोरोनाको जोखिम फेरि बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ ।

भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना सङ्क्रमणको उच्च जोखिम परेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागरराज भण्डारीले बताउनुभयो । भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा सङ्क्रमण भएको हुन सक्ने भएकाले जोखिम बढ्ने डाक्टरले बताउँदै आएका छन् । घर फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण गरिने भनिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन ।

सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानीलाई कडा पारेको छ । भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ ।

सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले सतर्कता नअपनाए भारतमा जस्तै नेपालमा सङ्क्रमण फैलिन सक्ने बताउनुभयो । जनस्वास्थ्यका मापदण्ड पालना हुन छोडेकाले जोखिम थप बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="