नेपाल पहिलोपटक साफ च्याम्पियनशिपकाे फाइनलमा, फाइनल पछि प्रशिक्षक अलमुताइरीले राजीनामा दिने


असोज २८, २०७८


काठमाण्डाै । नेपाल साफ च्याम्पियनशिपकाे फुटबलकाे फाइनलमा पुगेकाे छ । बुधवार भएकाे खेलमा बङ्गलादेशसँग एक–एक गाेलकाे बराबरी खेल्दै नेपाल पहिलाे पटक फाइनलमा पुगेकाे हाे । 

मालेकाे राष्ट्रिय रङ्गशालामा भएकाे खेल एक-एकको बराबरीमा सकिएपछि नेपाल इतिहासमै पहिलो पटक फाइनलमा पुगेकाे हाे । याेसँगै नेपालले २८ वर्षकाे पर्खाइ भङ्ग गरेकाे हाे । सन् १९९३ देखि सुरु भएकाे साफ च्याम्पियनशिपमा नेपाल १३ औँ संस्करणमा आइपुग्दा पहिलाे पटक फाइनलमा पुग्याे । 

खेलकाे नवाैँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले खेलकाे ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गाेल गरेका हुन् । 

खेलको ७९ औँ मिनेटमा गाेलकीपर अनिसुर रहमान जिकोले रातो कार्ड पाएपछि उनकाे ठाउँमा अशरफुल राना आएका थिए । 

जितसँगै नेपाल चार खेलमा सात अङ्कसहित फाइनलमा पुगेकाे हाे । चार खेल खेलेकाे नेपालले दुईमा जित, एकमा हार र एकमा बराबरी खेलेकाे हाे । फाइनलमा पुग्न नेपाललाई कम्तीमा पनि बराबरीकाे नतिजा चाहिएकाे थियाे । बङ्गलादेश चार खेलमा पाँच अङ्कसहित प्रतियाेगिताबाटै बाहिरिएकाे छ ।

त्यसैगरि भारत पनि साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । अब फाइनल खेल आउँदो शनिबार नेपाली समयअनुसार राति ८:४५ मा भारत र नेपालबीच हुनेछ ।

यस्तै, नेपाली फुटबल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् । उनले साफ च्याम्पियनशिपको फाइनलपछि राजीनामा दिने घोषणा गरेका हुन् ।

बङ्गलादेशसँगको खेलपछि भएको पत्रकार सम्मेलनमा अलमुताइरीले नेपाली टोलीको मुख्य प्रशिक्षकको रूपमा यो नै आफ्नो अन्तिम खेल हुने बताएका हुन् । उनी माल्दिभ्सबाट सिधै कुवेत जानेछन् ।

यसअघि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीसँग विवाद भएपछि अलमुताइरीले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । तर पछि यो विषय सेलाएको थियो ।

राेहितले गरे विराजकाे बराबरी

यसैबीच आजकाे खेलमा राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्दले नेपालका लागि सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । बुधवारकाे खेलमा रोहितले पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गरेका हुन् ।

राेहितकाे यो नेपालको लागि ७३ औँ खेल हो । विराजले पनि नेपालका लागि ७३ खेल खेलेका छन् । विराजले सन्न्यास लिइसकेका हुँदा राेहितलाई उनकाे कीर्तिमानलाई उछिन्ने माैका छ । 

नेपालका लागि धेरै खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा छ । उनले ७८ खेल खेलिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="