रुकुमपश्चिम, १४ माघ । रुकुम पश्चिममा भुकम्प प्रभावितका लागि १८ हजार ८ सय बढी अस्थायी आवास निर्माण भएका छन् । भुकम्प गएको करीव तीन महिनापछि ६२ प्रतिशतका लागि अस्थायी आवास निर्माण भएका हुन् ।
जिल्लाका ३० हजार प्रभावित मध्ये १८ हजार ८सय ६६ वटा लाई अस्थायी आवास निर्माण गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले आठबिसकोट नगरपालिकामा पाँच हजार ७सय ८५ वटा, चौरजहारी नगरपालिकामा तीन हजार ९सय १५ वटा, मुसीकोट नगरपालिकामा ४सय ९६, सानीभेरी गाउँपालिकामा पाँच हजार २सय ४०, त्रिवेणी गाउँपालिकामा दुई हजार ४सय ७५ र बाँफीकोट गाउँपालिकामा ९सय ७३ वटा अस्थायी आवास निर्माण भएको जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार, अहिले छ हजार ९सय ७६ वटा टहरा निर्माणको चरणमा रहेका छन् । प्रमुख जिल्ला अधिकारी पन्तले अस्थायी आवास निर्माणका लागि छ वटा स्थानीय तहमा रहेका स्थानीय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा ७३ करोड ५१ लाख ५० हजार रुपियाँ उपलव्ध गराइएको उनले बताए।
यो रकम २९ हजार ४०६ वटा अस्थायी आवास निर्माणका लागि निकासा गरिएको हो । सोही रकमबाट भूकम्पपीडितका लागि धमाधम अस्थायी आवास निर्माण कार्य भइरहेको हो ।
पहिलो किस्तामा २७ हजार लाभग्राही
जिल्ला विपत् कोषबाट निकाशा आएको रकममध्ये स्थानीय तहले हालसम्म ६७ करोड ५९ लाख रुपियाँ मात्र लाभग्राहीलाई भुक्तानी गरेका छन् । पहिलो किस्ताबापतको यो रकम २७ हजार ३६ जना लाभग्राहीको खातामा जम्मा गरिएको छ ।
चौरजहारी नगरपालिकाका छ हजार २५४ जना, आठबिसकोट नगरपालिका नौ हजार ६६७, मुसीकोट नगरपालिकाका एक हजार ४०, सानीभेरी गाउँपालिकाका पाँच हजार ६२४, त्रिवेणी गाउँपालिकाका दुई हजार ७५२ र बाँफिकोट गाउँपालिकाका एक हजार ६९९ जना लाभग्राही खातामा रकम जम्मा गरिएको छ ।
एक जना लाभग्राहीको खातामा २५ हजार रुपियाँका दरले पहिलो किस्ताको अनुदान रकम जम्मा गरिएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो । हालसम्म २९ हजार ४०६ लाभग्राही रहेकोमा २७ हजार ३६ लाभग्राहीको खातामा रकम भुक्तानी भएको छ । जिल्लाबाट रकम निकासा भए पनि स्थानीय तहले दुई हजार ३७० लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम दिन बाँकी रहेको जनाइएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस