काठमाडौँ,२३ साउन । इरानमा बुधबार २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
नर्वेको मानवअधिकार संगठनले दिएको जजानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो ।
अमेरिकास्थित ह्युमन राइट्स एक्टिभिष्ट न्यूज एजेन्सी र सेन्टर फर ह्युमन राइट्स इन इरानले पनि गेजलहसार जेलमा कम्तीमा दुई दर्जन व्यक्तिलाई मृत्युदण्ड दिइएको पुष्टि गरेको छ ।
इरानले जनतामा डर पैदा गर्न २०२२ को विरोध प्रदर्शनमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिएको बारम्बार आरोप लगाइएको छ ।
इरानसँग सम्बन्धित मानवअधिकार संगठन आईएचआरका निर्देशक महमूद अमिरी मोगद्दमले अन्तर्राष्ट्रिय समुदायले यसतर्फ खासै ध्यान नदिएको बताए ।
जसका कारण इरान सरकारले आगामी महिना सयौंलाई फाँसी दिन सक्ने उनको दाबी छ । उनले सन् २००९ पछि यति ठूलो संख्यामा मानिसलाई फाँसी दिएको यो पहिलो पटक भएको बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस