‘पानीको श्रोत व्यवस्थापनमा बढदै चुनौती, पुनः प्रयोगको परिकल्पना नहुदा गहिरिदै संकट’


भदौ २६, २०८१



उमा भण्डारीदाङ,२६ भदौ ।
तुलसीपुर उपमहानगरपालिका –९का लक्ष्मण खत्री पेशाले व्यवसायी हुन्। उनले तरकारी र किराना पसल सञ्चालन गर्दै आएका छन्। उनको किराना र तरकारी पसलमा दैनिक १० लिटर पानी खपत हुन्छ । तरकारी सफा गर्नकै लागि पनि उनले १० लिटर पानी घरबाट बोकेर पसलसम्म ल्याउनु पर्छ । पिउने पानी भने उनले मिनिरल वाटर ९बोत्तलको पानी० प्रयोग गर्छन् । पानी पिएर खाली भएको बोत्तल उनले न पुनः प्रयोग गर्छन्, न तरकारी सफा गरेको पानी नै । बोत्तललाई डस्टबिनमा र प्रयोग गरिएको पानीलाई नालामा व्यवस्थापन गर्छन् । बोत्तल उपमहानगपालिकाका सरसफाईकर्मीले उठाएर लैजान्छन् भने नालीको पानी सुकेर जान्छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का कमला डाँगीले पनि लुगा धोएको, भाडा सफा गरेको ,तरकारी धोएको पानी नालामा बगाउने गरेको बताइन्। पिउनका लागि जारको पानी र अन्य प्रयोजनका लागि धाराको पानी प्रयोग गर्दै आएकी उनले एकपटक प्रयोग भइसकेको पानी पुनः प्रयोगमा नआएको उनी बताउँछिन्।
भान्साको पाइप नालामा जोडिएको छ, तरकारी पखाल्यो, भाडा सफा गर्यो भने त्यो पानी सिधै नालामा जान्छ , उनले भनिन्–‘ एकपटक प्रयोग गरेको पानी फेरी अर्कोपटक प्रयोग चाहि हुदैन, करेसाबारीमा पानी लगाउन परे, गमलामा पानी राख्न परेपनि टंकीकै पानी प्रयोग हुन्छ ।’
तुलसीपुर उपममहानगरपालिका–९ बस्ने लालबहादुर सार्कीले एकपटक प्रयोगमा आएको पानी पुनः प्रयोग नहुने बताए। उनले पनि पिउनका लागि जारको र अन्य प्रयोजनका लागि धाराको पानी प्रयोग गर्छन् । थोरै पानीलाई अधिकतम रुपमा प्रयोग गर्नुपर्छ भन्ने उनलाई थाहा भएपनि व्यवहारमा त्यसो हुन नसकेको उनी बताउँछन्। प्रयोग गरिएको पानीलाई पुनः प्रयोग गर्नुपर्छ भन्ने त थाहा छ तर बानी परेनौँ अँझै, झन्झट जस्तो लाग्छ, उनले भने–‘पानी पुगेन भने ट्यांकरको पानी किन्ने हो, त्यो पनी कहिले त पाइदैन, हाहाकार नै हुन्छ।’

पछिल्लो केहीवर्षयता गर्मीयाममा तुलसीपुरबासीलाई पानीको हाहाकार हुने गरेको छ । धारामा आएको पानी अपर्याप्त हुनेहुँदा ट्यांकरको पानीले दैनिकी धान्नु पर्ने वाध्यता रहदै आएको छ । चैत वैशाखको समयमा ट्यांकरको पानी समेत किन्न नपाउँदा गर्मी याममा पानीको हाहाकार नै हुन्छ । बढ्दो सहरीकरण र अव्यवस्थित बसोबास र पानीको महत्वको वोध नहुँदा वर्सेनी स्थानीयहरुले पानीको संकट झेल्दै आएका छन्।

चक्रिय अर्थतन्त्रमा कुनैपनि बस्तुको उपभोग निरन्तर पुर्नप्रयोग गर्नुपर्ने अवधारणा छ । सोही अनुसार पानीलाई पनि शुद्धिकरण गरी पुनःप्रयोग गर्न सकिने वा प्रयोग गरिएको पानीलाई अन्य कुनै काममा प्रयोग गर्न सकिन्छ । तर अधिकाँश उपभोक्ताले प्रयोग गरी खेर गएको पानी नालामा बगाउने गरेको पाइएको छ ।

बढ्दो सहरीकरण र अव्यवस्थित बसोबासका कारण खानेपानी व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ । मुहानहरुमा पानीको मात्रा कम हुँदै जाँदा उपभोक्ताले सहज पानी पाउन सकेका छैनन भने निकाय संवेदनशिल बन्न सकेको छैन । पानी प्रयोग गरी खेर गएको पानीलाई पुनः प्रयोग गर्नुको साटो ढल वा नालामा बगाउने बानीका कारणले पनि पानीको उचित प्रयोग हुन सकेको छैन । पानीको सही प्रयोग र सदुपयोग हुन सकेन भने निकट भविष्यमा पानीको ठुलो संकट झेल्नुपर्ने सरोकारवाला बताउँछन्।

तुलसीपुरबासीका लागि आफ्नै वरपर रहेका मूल नै पानीको मुख्य श्रोत हो । स्थानीय स्तरमा रहेका पानीका मुहान जीवीकोपार्जनका लागि मुख्य आधार पनि हुन् । १ लाख ४९ हजार बढी जनसँख्या रहेको यस उपमहानगरका करीव १ लाख १९ हजार उपभोक्ताले मुलकोट, राम्री, चिसापानी, छरछरे, धैरेनी जस्ता मुहानको पानी उपभोग गर्ने गर्दछन् । यसका साथै स्थानीय खोला नदी तथा ईनार पनि यस क्षेत्रका लागि मुहानको श्रोतको रुपमा प्रयोग हुने गर्दछन् ।

तुलसीपुर उपमहानगरभित्र रहेका बबई नदि, कालाखोला, पत्रे खोला,संक्राम खोला,हापुर खोला,पातु खोला, ग्वार खोला,भमके खोला, तुई खोला पनि पानीको श्रोतको रुपमा प्रयोग हुँदै आएका छन्। तर यि खोलाहरु सदाबहार बग्न सकेका छैनन् । कतिपय क्षेत्रमा पानीका मुहानहरु सुक्ने समस्या देखिन थालेको छ । कुनै क्षेत्रमा मुल सर्ने समस्या देखिएको छ । एकातिर प्रतिदिन पानीमो माग बढ्दै गएको छ । अर्कोतिर मुहानहरु कम हुँदै गएको छ । यसले निकट भविष्यमा पानीको संकट बढ्ने देखिन्छ ।

अहिले पनि चैत, बैशाख, जेठ, असारको महिनामा पानीको व्यवस्थापन गर्न निकै मुस्किल पर्ने गरेको उपभोक्ताहरुको अनुभव पनि छ । धाराको पानीले नपुग्ने भएपनि ट्यांकरबाट किनेर पानी आपूर्ती गर्नुपर्ने उपभोक्ताको बाध्यता छ । पानी आपूर्तीमा आएको समस्याले जिविकोपार्जनमा पनि समस्या निम्त्याएको छ । ट्यांकरको पानी किनेर उपभोग गर्दा आर्थिक भार समेत उपभोक्तामा थपिएको छ ।

धारामा पानी समयमा नआउने, पानी पर्याप्त नहुने, अनुपयुक्त समयमा पानी आउँदा समय व्यवस्थापनमा कठिनाई हुने जस्ता समस्याहरु झेल्न परेको उपभोक्ताहरु बताउँछन् । मध्यान्ह्को समयमा पानी भर्नूपर्ने भएपछि आफ्नो दैनिकी नै प्रभावित हुने गरेको उनीहरुको भनाई छ ।

प्रत्येक वर्ष उपभोक्ताको सँख्या बढ्दै जाँदा पानीको खपत पनि बढ्ने भएकाले पानीको व्यवस्थापनका लागि समय परिर्माजन गर्नुपर्ने वाध्यता खानेपानी संस्थामा छ । तुलसीपुर उपमहानगरपालिकाभित्र खानेपानी उपभोग गर्नेहरुको सँख्या प्रत्येक वर्ष बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७९÷८० को असार मसान्तसम्ममा तलसीपुर क्षेत्रभित्र ८ हजार २ सय ३५ घरधुरीमा खानेपानीको धारा जडान गरिएको थियो । अहिले धाराको सँख्या बढेर १० हजार ६ सय ६९ पुगेको छ । पानीको माग बढ्दै जाँदा पानीका मुलहरु भने थपिएका छैनन् । हाल दैनिक ८० लाख लिटर खानेपानी तुलसीपुरका लागि आवश्यक पर्छ । तर सरदर ५४ लिटर पानी मात्रै आपूर्ती गर्न सकिएको छ । आवश्यक भन्दा २६ लाख लिटर पानी दैनिक रुपमा अभाव हुने गरेको खानेपानी संस्थाहरुको तथ्यांक छ ।

चैतदेखि असारसम्म प्रतिव्यक्ति ५८ एलपिएस मात्रै पानी उपलव्ध हुने गर्दछ । बाँकी अन्य महिनामा भने ६७ एलपिएस सम्म पानी उपलव्ध गराउनसकिएको खानेपानी संस्थाका ईन्जिनीयर सुन्दर कुमार वलीले जानकारी दिए। उनका अनुसार ग्राभेटी मुहान श्रोतहरु सुक्दै जादा र भूमीगत श्रोतको पानी एकदमै कम हुँदा गर्मी समयमा ३५ प्रतिशत पानीका मुहानहरुमा पानीको कमी हुँदा पानी आपूर्तीमा समस्या हुने गरेको छ ।

श्रोत व्यवस्थापनको चुनौती थपिदै
जनघनत्व बढ्दै जाँदा पानी आपूर्तीमा पनि चुनौती थपिदै गएको छ । उपभोक्ताले पानी सहि प्रयोग गर्न नसक्दा पनि आवश्यकता अनुसारको पानी व्यवस्थापन हुन नसकेको खानेपानी संस्थाका पदाधिकारीहरु बताउँछन्। पानीको माग प्रतिदिन बढ्दै जाँदा श्रोत भने कम हुँदै गएको छ । वनविनाश, प्राकृतिक दोहन, अव्यवस्थित बसोबास, उद्योगहरुको सञ्चालनले पानीको श्रोत सुक्दै गएको छ ।

समन्वय विना नै गरिने निर्माणका कामहरुले खानेपानीका संचरनामा हुने क्षति, अव्यवस्थित बसोबास, विकासका नाममा हुने नदी दोहनले पनि गर्मीको समयमा मुलहरु सुक्ने समस्या देखिन थालेको खानेपानी संस्थाका कोषाध्यष भोला थापाले बताए । उनका अनुसार सडक विस्तारको नाममा जलाधार क्षेत्रको विनाश,वनविनाश, उद्योगको स्थापनाले पानीको श्रोत सुक्दै जान थालेको छ । जसले पानीको उचित व्यवस्थापन र मुहान संरक्षणमा चुनौती थपिदै गएको छ । खानेपानीको दिर्घकालिन समस्या समाधानका लागि चक्रिय अर्थतन्त्रको अवधारण महत्वपूर्ण रहेपनि त्यसबारे उपभोक्ताको ध्यान पुग्न सकेको छैन ।

खानेपानीको दिर्घकालिन समस्यमा समाधानमा तुलसीपुरको नीति के ?
तुलसीपुर उपमहानगरपालिकाले पानीको श्रोतको दिगोपनाका लागि विभिन्न नीतिहरु अवलम्वन गर्दै आएको छ । प्राकृतिक श्रोतहरुको दिर्घकालिन संरक्षण,उचित व्यवस्थापन र दिगो प्रयोग सुनिश्चितताका लागि नीति तथा कार्यक्रमहरुमा समेत यि विषयहरु समेट्दै आएको छ । उपमहानगरले एक घर, एक धारा अभियानलाई सार्थक बनाउनका लागि पनि खानेपानी स्वच्छता ऐनको कार्यान्वयन, मुहान संरक्षण र व्यवस्थापनका लागि सहकार्य र साझेदारीको नीति ल्याएको छ । सोही अनुरुप जलश्रोतको दीगो व्यवस्थापनका लागि स्थानीय समुदाय, निजी क्षेत्र र गैर सरकारी संस्थाहरुसंग सहकार्य गरी श्रोतको संरक्षणको सामुहिक प्रयास गर्दै आएको छ ।


पानीको दीर्घकालिन समस्या समाधान कसरी गर्ने ?

पानीको दीर्घकालिन समस्या समाधानमा चक्रिय अर्थतन्त्रको अवधारणा निकै महत्वपूर्ण छ । शुन्य फोहोर र कुनैपनि बस्तुको निरन्तर पुनः प्रयोग गर्न सकिने अवधारणा यस चक्रिय अर्थतन्त्रमा छ । पानीको खपत र उपलव्धता विश्वव्यापी रुपमा चूनौती पूर्ण बन्दै गएको छ । यस अवस्थामा चक्रिय अर्थतन्त्रले पानीको प्रयोग, शुद्धिकरण, पुनःप्रयोग गर्न सकिने धारणाको विकास गरेको छ । पानीको श्रोतमा पर्ने दबाबलाई कम गर्नका लागि पानीको श्रोतलाई प्रदुषण मुक्त राख्ने, पानी शुद्धिकरणको आवश्कतलाई कम गर्ने,प्रदुषणबाट हुने पानीको अभावलाई कम गर्न, पानीका समिति श्रोतहरुको कुशल उपयोगलाई यसले प्राथमिकता दिने गर्दछ ।पानीको उपयोगलाई मापन, न्युनतम खपत, नियन्त्रण गर्ने लक्ष्य राख्न सके पानीको दीर्घकालिन समस्या समाधानमा सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="