कास्की,९ पुस। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आजदेखि थुनछेक बहस सुरु भएको छ । सांसद पदबाट समेत निलम्बनमा परेका लामिछानेविरुद्ध मुद्दा दर्ता भएसँगै मंगलवारदेखि थुनछेक वहस हुने भएको छ । थुनछेक वहसका लागि लामिछानेलाई सोमवार नै अदालतमा लगिए पनि पालो नआएका कारण उनको वयान हुन सकेको थिएन । हिजो उनी संघीय संसदको सांसद पदबाट निलम्बन भएका थिए ।
कास्की अदालतको बेञ्चले सुनुवाइ सकिएपछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने, छविलाल जोशीसहित ४४ जनालाई आइतवार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । पाँच जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनदेखि ९२औँ दिनमा सरकारले आइतवार अभियोगपत्र दर्ता गरेको हो । लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरिएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस