मुस्लिम समुदायको सशक्तिकरणका लागि प्रदेश सरकार प्रतिवद्ध: मुख्यमन्त्री आचार्य


१० घण्टा अगाडि


दाङ,२५ पुस। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुस्लिम समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन्।

मुस्लिम आयोगद्वारा बिहीबार दाङको लमहीमा आयोजित मुस्लिम समुदायको सशक्तिकरण तथा क्षमता विकाससम्बन्धी कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले समुदायको सशक्तिकरण र जागरणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

“मुस्लिम समुदायका बालबालिका अझै शिक्षाबाट टाढा रहेका छन्। प्रदेश सरकारले किशोरीहरूका लागि उच्च शिक्षामा पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको भए पनि यो सुविधा उपयोग गर्नेहरूको संख्या कम छ,” मुख्यमन्त्रीले भने।

उनले समुदायका अगुवाहरूलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्रिय हुन आग्रह गर्दै प्रदेश सरकारले निजामती सेवामा मुस्लिम समुदायको ७ प्रतिशत समावेशी प्रतिनिधित्व सुनिश्चित गरेको जानकारी दिए।

मुख्यमन्त्री आचार्यले मदरसा शिक्षामा सुधार गर्न प्रदेश सरकारले सहकार्य गरिरहेको र यसलाई समयानुकूल बनाउँदै लैजानुपर्नेमा जोड दिए। साथै, मुस्लिम समुदायमा बालविवाह जस्ता समस्याले मातृ मृत्युदर, बाल मृत्युदर, र कुपोषणलाई थप जटिल बनाएको उल्लेख गर्दै यसलाई रोक्न पोषण कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।

कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले समुदायको सशक्तिकरणका लागि संघ, प्रदेश, र स्थानीय तहले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले शिक्षा, स्वास्थ्य, र रोजगारी सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै सबैखाले अवसरहरूमा मुस्लिम समुदायको पहुँच वृद्धि गर्न माग गरे।

कार्यक्रममा मुस्लिम समुदायको सामाजिक जागरण र सशक्तिकरणका लागि सहकार्यमा अघि बढ्न आग्रह गरिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="