बसपार्क घटना : २ लाख अतिरिक्त क्षतिपूर्ति र मृतककी छोरीलाई कक्षा १२ सम्मको शिक्षाको जिम्मा


१० घण्टा अगाडि


दाङ,२५ पुस । तुलसीपुर उपमहानगरपालिका–५ की ३९ वर्षीया तिर्सना घर्ती मगरको बसको ठक्करबाट मृत्यु भएपछि उत्पन्न तनाव अन्ततः दोस्रो पटकको वार्तापछि सहमति भएको छ। त्रिशिद्धेश्वरी यातायात प्रालिले मृतकका परिवारलाई दुई लाख रुपैयाँ अतिरिक्त क्षतिपूर्ति उपलब्ध गराउने र मृतककी छोरीलाई कक्षा १२ सम्मको शिक्षा दिने जिम्मा लिने सहमति भएको छ।

बुधबार दिउँसो १:४५ बजे तुलसीपुर बजारबाट बसपार्कतर्फ गइरहेको लुम्बिनी प्रदेश ०२००१ ख ००४४ नम्बरको बसले बाटो काट्दै गरेकी पैदलयात्री तिर्सना घर्ती मगरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी मगरको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको थियो।

मृतकका दुई सन्तानमध्ये हाल कक्षा ८ मा अध्ययनरत छोरीलाई कक्षा १२ सम्म शिक्षाको व्यवस्था गर्ने निर्णयपछि तनाव शान्त भएको हो।

दुर्घटनापछि स्थानीय बासिन्दा र परिवारजनले प्रदर्शन सुरु गरेका थिए। इलाका प्रहरी कार्यालय तुलसीपुरमा बसेको छलफलले सहमति जुटाएको हो।

दुर्घटना पछि बस चालक तुलसीपुर–६ का ४२ वर्षीय खिमराज वलीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="