दाङ, २६ पुस । रैथाने खानाको स्वाद चखाउन तुलसीपुरमा महोत्सव गरिने भएको छ । स्थानीय वस्तुको बजारीकरण र कला, संस्कृतिको संरक्षणका लागि रैथाने खाना महोत्सवको आयोजना गरिने भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाको पर्यटन शाखाको सहयोग र समन्वयमा तुलसीपुर होटल व्यवसायी समितिले रैथाने खाना महोत्सव तथा माघी मिलन कार्यक्रम गर्न लागेको हो । आउँदो आइतबार (पुस २८ गते) तुलसीपुर–७ मा रहेको राप्ती शान्ति उद्यान गणेशपुर पार्कमा दोस्रो रैथाने खाना महोत्सवको आयोजना गरिएको समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतले जानकारी दिए ।
महोत्सवमा स्थानीय उत्पादनबाट बनेका परम्परागत परिकारको परिकारको प्रदर्शनी र स्वाद चखाउने उनले बताए । उनका अनुसार सहभागीहरूले विभिन्न परिकारहरूको स्वाद लिन सक्नेछन् । महोत्सवमा कोदाको ढिँडोदेखि ढिक्रि, अनदीको झोल, सातु पेडा, गुन्द्रुक, सिस्नुको झोल, लोकल मासु, घोंगी, गंगटा लगायतका परिकार रहने जानकारी गराए।
महोत्सवले हराउँदै गएका परम्परागत परिकारहरूको महत्व झल्काउन र नयाँ पुस्तालाई यसको महत्व बुझाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ । ‘हाम्रो परम्परा र खानपानलाई पुनर्जीवित गर्न तथा यसको मौलिकतामाथि गर्व गर्न हामीले यो महोत्सव आयोजना गर्न लागेका हौँ ।’ अध्यक्ष बस्नेतले भने–‘महोत्सवको मनोरञ्जनात्मक पक्षलाई थप बलियो बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय कलाकारहरूको प्रस्तुति र मौलिक नृत्य प्रदर्शन गरिनेछ ।’
तुलसीपुर उपमहानगरपालिका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले महोत्सवमा स्थानीय बासिन्दा, पर्यटक र अन्य आगन्तुकहरूको उत्साहजनक सहभागिता हुने अपेक्षा गरिएको बताए । उनले रैथाने खाना महोत्सवले स्थानीय परम्परा र संस्कृति जोगाउँदै तुलसीपुरलाई सांस्कृतिक र पर्यटन गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस