दाङ,२७ पुस। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २०औँ कार्यपरिषद् बैठक तथा १२औं अधिवेशन सम्पन्न भएको छ। खानेपानी संस्थाका अध्यक्ष यमकान्त भण्डारीको अध्यक्षता तथा खानेपानी आयोजना काठमाडौँका निर्देशक नारायण प्रसाद आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
‘पानी जीवन हो यसको सहि सदुपयोग गरौं , हरियाली बढाइ मुहान संरक्षणमा अग्रसर बनौं ‘भन्ने मुल नारा सहित सम्पन्न भएको अधिवेशनका अवसरमा सहभागीहरूले नागरिकले निःशुल्क पिउनेपानी उपभोग गर्न पाउनुपर्ने बताएका थिए।
नेपालको संविधान २०७२ ले खानेपानीलाई मौलिक हकमा समावेश गरेपनि त्यो प्रत्याभूत हुन नसकेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने बताए।
नागरिकले राज्यले महँगो शुल्क करका रूपमा तिरिरहँदा आधारभूत आवश्यकताहरू परिपूर्ति नहुनु दुखद पक्ष रहेको भन्दै सरकारले खानेपानीलाई निःशुल्क रुपमा उपलब्ध गराउने व्यवस्था ल्याउनुपर्ने बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि निर्देशक आचार्यले खानेपानी संस्थानहरूमा देखिने समस्या समाधानका लागि सरकारलाई निरन्तर झक्झक्याउँदै आएको बताए नागरिकका गुनासा र समस्या समाधानका लागि सरकारसँग पहल गर्ने उनको भनाइ थियो। खानेपानी निःशुल्क उपलब्ध हुनुपर्ने भएपनि राज्यका संयन्त्रहरू व्यवस्थित नहुँदा अधिकारपूर्ण रुपमा प्रत्याभूत हुन नसकेको उनले बताएका थिए।
कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र कुमार शाहले सबै नागरिकले सहजै मौलिक अधिकार प्राप्त गर्न नसकेको गुनासो गरे।
बसपार्क क्षेत्रको खानेपानीको विषय अहिले पनि टुङ्गो नलागेको भन्दै त्यस क्षेत्रका नागरिकले सहजै खानेपानीको उपभोग गर्न पाउनुपर्ने र यसका लागि सबै निकाय जिम्मेवारी र जवाफदेही बन्नुपर्ने उनको भनाइ थियो।
खानेपानीको सवालमा एकजुट बन्न नसक्दा पटकपटक विरोध आउने र थालिएका कामहरु समयमै सम्पन्न हुन नसक्ने भन्दै खानेपानीलाई साझा सवालको विषय बनाउन सबैलाई आग्रह समेत गरे।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीले खानेपानी आयोजनालाई व्यवस्थित रुपमा सम्पन्न गर्न सुझाव दिए।
अबको नयाँ नेतृत्वले खानेपानीका पाइपलाइन विस्तारमा सडक डिभिजन र स्थानीय सरकारसँग समन्वय गरेर मात्र काम गर्न आग्रह गरे बिना समन्वय र सूचना बिना काम गर्दा भर्खरै निर्माण भएका सडकहरु ध्वस्त भएको भन्दै कानुनी र व्यवहारिक कुरालाई हेरफेर गर्न आग्रह समेत गरेका छन्।
खानेपानी तथा उपभोक्ता सरसफाई डिभिजन कार्यालय घोराइका प्रमुख तिलक न्यौपानीले ट्रिटमेन्ट प्लान्टलाई व्यवस्थित गर्न नसके हरेक वर्ष याममा उपभोक्ताले धमिलो पानी पिउनुपर्ने बाध्यता यथावत रहिरहने बताए ।
सरकारले खानेपानीमा महँगो कर लगाउँदा उपभोक्ताले आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने र थप समस्या उत्पन्न हुने भन्दै यस्ता अनावश्यक करहरू नलगाउन अनुरोध गरे।
तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव केशवराज केसीले पानी व्यक्तिको जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको भन्दै यसप्रति सबै निकायहरू संवेदनशील बन्न आग्रह गरे।
नेपाल यातायात व्यवसाय महासङ्घका केन्द्रीय सल्लाहकार सुरेश हमालले उपभोक्ताको सङ्ख्या अनुसार खानेपानी संस्थानको कार्य समितिको संरचना फेरबदल गरिनुपर्ने बताएका थिए। निर्माणकर्ताहरूबाट उपभोक्ताहरू पटकपटक ठगिएको बताउँदै आयोजनालाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न सक्ने खालको नेतृत्व संस्थामा आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष रामबहादुर जिसी ,वडा नम्बर १२ का वडा अध्यक्ष खुसीराम चौधरी ,अमृतपुर खानेपानी तथा उपभोक्ता सरसफाई समितिका उपाध्यक्ष केशव सापकोटा, घोराही खानेपानी तथा उपभोक्ता सरसफाई समितिका अध्यक्ष देवीबहादुर डाँगी, नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समिति, बेलझुण्डि खानेपानी उपभोक्ता तथा सरसफाई समिति का प्रतिनिधिहरूले आआफ्नो धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा सहलगानी खानेपानी आयोजनाका इन्जिनियर बद्री कार्कीले हालसम्म सम्पन्न आयोजनाको प्रगति विवरण प्रस्तुत गरेका थिए।
यसैगरी पत्रकार सुशील बस्नेत, संस्थाका पूर्व अध्यक्ष परिषद् सदस्य विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले आफ्नो भनाइ राखेका थिए।
कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष भोला थापाले प्रस्तुत गरेका थिए भने सांगठनिक प्रतिवेदन सचिव शेवकराम भण्डारीले प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष सीताराम शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव सेवकराम भण्डारीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस