दाङ,११ माघ । तुलसीपुर चेम्बर अफ कमर्सले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। उद्योगी तथा व्यवसायीहरूको साझा समस्यालाई उजागर गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा स्थानीय व्यवसायको सुरक्षादेखि पूर्वाधार विकाससम्मका विविध विषयहरू समेटिएका छन्।
चेम्बरका प्रतिनिधिहरूले व्यवसायिक सुरक्षाको प्रत्याभूति, ठूला उद्योगहरूद्वारा गरिने अस्वाभाविक मूल्यवृद्धिको नियन्त्रण, र कर प्रणालीलाई व्यवसायमैत्री बनाउने माग गरेका छन्।
साथै, तुलसीपुरको ऐतिहासिक टरिगाउँ विमानस्थलको नियमित सञ्चालन र स्तरवृद्धि, विगत ५–६ वर्षदेखि रोकिएको तुलसीपुर–घोराही सडक खण्डको निर्माण कार्यलाई शीघ्र सम्पन्न गराउन, र दाङ–सल्यान–रुकुम सडक खण्डको स्तरवृद्धिको आवश्यकता पनि जोडदार रूपमा प्रस्तुत गरिएको छ।
चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारी र महासचिव दुर्गाप्रसाद शर्माको संयुक्त हस्ताक्षरित ज्ञापनपत्र मार्फत इबैंकिङ प्रणालीमा देखिएको समस्या र यसमा लगाइएको कर खारेज गर्न, साथै बैंकिङ प्रणालीलाई सहज बनाउन माग गरिएको छ।
ज्ञापनपत्र बुझाउँदै चेम्बरका पदाधिकारीहरूले भने -‘स्थानीय व्यवसायीहरू असुरक्षाको अनुभूति गरिरहेका छन्। ठूला उद्योगहरूद्वारा गरिने मूल्यवृद्धिले साना व्यवसायी र उपभोक्ता दुवै मारमा परेका छन्। साथै, स्थानीय पूर्वाधार विकासको कार्यमा भइरहेको ढिलाइले यस क्षेत्रको समग्र आर्थिक विकासमा बाधा पुर्याएको छ।’
चेम्बर अफ कमर्सका अध्यक्ष भण्डारीको स्वास्थ्यको कारण बरिस्ठ अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा गएको टोलीले ज्ञापनपत्र बुझाएको जसमा केन्द्रीय सदस्य तथा संस्थापक अध्यक्ष टोपबहादुर घर्ती प्रदेश सदस्य प्रदेश सदस्य निर्मल पौडेल कोषाध्यक्ष लोकेन्द्र ओली महासचिव दुर्गा शर्मा, सल्लाहकार प्रेम प्रकाश गिरी,दरीभान ओलीको सहभागिता रहेको थियो ।
ज्ञापन पत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीहरूको समस्यालाई गम्भीरतापूर्वक लिई सम्बन्धित पक्षसँग समन्वय गरी समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो ज्ञापन पत्रले तुलसीपुर क्षेत्रमा व्यवसायिक वातावरण सुधार्न र विकासका नयाँ सम्भावनाहरूलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताएका छन् । प्रचण्ड नेकपा माओवादी केन्द्रको तुलसीपुर नगर कमिटीको अधिवेशन उद्घाटन गर्न दाङ आएका हुन् ।
यस्तो छ ज्ञापन पत्र:
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस