राप्ती लाइफ केयरको नर्सिङ दिवसमा विविध कार्यक्रम


माघ १५, २०८१


दाङ,१५ माघ। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलले ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अस्पताल र यस अन्तर्गतका शिक्षण संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान, बिरामीहरूलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको हो।अस्पतालका सञ्चालक समितिका कार्यकारी अध्यक्ष हरि रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो।

कार्यक्रममा बोल्दै अस्पताल सञ्चालक समितिका कार्यकारी अध्यक्ष हरि रिजालले नर्सिङ पेशा सेवाभाव र मानवीय व्यवहारको उदाहरण भएको बताए। उनले नर्सिङ पेशालाई मर्यादित र व्यवस्थित बनाउनुपर्नेमा जोड दिंदै, वर्तमान नीति सुधार गरी आवश्यक जनशक्ति उत्पादनको लागि कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

अस्पतालका निर्देशक दोर्ण बहादुर ओलीले नर्सिङ पेशा आदर्श र विश्वव्यापी रूपमा मान्यता प्राप्त पेशा भएको बताए। उनले सेवाभाव, एकता, र सीपयुक्त कार्यशैलीको विकास गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे।

अस्पतालका कार्यकारी निर्देशक जीवन भण्डारीले नर्सिङ पेशाको विश्वव्यापी माग बढेको र त्यो खालको जनशक्ति उत्पादनमा राप्ती लाइफ केयर हस्पिटल लागेको बताए । उनले राप्ती लाइफ केयर हस्पिटल अन्तर्गतका शिक्षण संस्थाहरूले उत्पादन गरेको जनशक्ति विश्व बजारमा बिक्ने सक्के खालेरहेको बताए ।

कार्यक्रममा नर्सिङ क्याम्पस प्रमुख अमृत सुवेदीले सीपयुक्त जनशक्ति उत्पादन गर्ने अभियानमा राप्ती लाइफ केयरका शिक्षण संस्थाहरू क्रियाशील रहेको उल्लेख गरे। साथै, नर्सिङ पेशालाई सम्मानजनक रूपमा स्थापित गर्नुपर्नेमा जोड दिंदै, बिरामीहरूलाई गुणस्तरीय सेवा दिन नर्सहरूको महत्वपूर्ण भूमिका रहेको बताए।

दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरे भने अस्पतालका बिरामी र मानव सेवा आश्रमका करिब १ सय व्यक्तिलाई फलफूल वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन नर्सिङ इन्चार्ज सचिता न्यौपानेले गरेकी थिइन्।

कार्यक्रममा विद्यार्थी, स्वास्थ्यकर्मी, र कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="