दाङ, ४ फागुन । यतिबेला दाङको तुलसीपुरमा दोस्रो तुलसीपुर महोत्सव २०८१ जारी छ। फागुन १ गतेदेखि तुलसीपुरस्थित हात्तीखौवामा महोत्सव चलिरहेको छ। महोत्सवमा प्रतिदिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले प्रस्तुति राख्ने गरेका छन्। सोही अन्तर्गत आज पाँचौं दिन चर्चित लोकदोहोरी गायक प्रकाश दूतराज चन्द्र शर्मा लगायतले प्रस्तुति राखेका छन्
तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवमा गायक प्रकाश दुतराजको ऊर्जाशील प्रस्तुतिले दर्शकलाई उत्साहित बनायो। ‘जुन माया’ गीतबाट चर्चामा आएका दुतराजले ‘रिमै’, ‘रेशम’ लगायतका लोकप्रिय गीतहरू गाएर माहोललाई झन् रमाइलो बनाए। उनका गीतमा दर्शक झुमेका मात्र होइन, साथमा गाएर महोत्सवलाई थप जीवन्त बनाएका थिए।
आज महोत्सवको पाँचौँ दिन चर्चित गायिका चन्द शर्मा, रिता केसीलगायतका कलाकारहरूको आकर्षक प्रस्तुति पनि रहेको थियो।
महोत्सवको पाँचौं दिन सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज, चन्द्र शर्मा , रिता केसी लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति राखेका छन्। चोली मैलै भो…बोली पनि के सारो रसिलो…धानको चामल… माछीले धान खायो… बहिनी झ्यालैमा.. लगायतका थुप्रै चर्चित गीतहरू गाएर दर्शकहरूलाई रमाइलो प्रदान गरेका थिए।
कलाकारहरूको प्रस्तुतिसँगै रमाएका दर्शकहरू झमक्कै साँझ परुन्जेलसम्म पनि स्टेज छोडेका थिएनन्। प्रस्तुति हेर्न दर्शकहरू उत्साहित देखिएका थिए । महोत्सवमा कलाकारहरुले एकपछि अर्को चर्चित लोकगीत गाएर उपस्थित दर्शकलाई झुमाए।
प्रकाशले गीत गाउँदा दर्शकहरू सबैभन्दा बढी जोसिएका थिए। उनले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्दा दर्शकले गायकसँगै गाए र नाचे। उपस्थित दर्शकहरू प्रकाशको स्वरमा मोहित देखिए।
सांगीतिक कार्यक्रममा स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिएका थिए। कार्यक्रममा दर्शकको ठूलो उपस्थिति देखिएको थियो। प्रकाश दुतराजले आफ्नो प्रस्तुति पछि दर्शकप्रति आभार व्यक्त गर्दै भने, “तपाईंहरूको माया नै मेरो ऊर्जा हो।”
भोलि एलिना चौहान आउदै
भोलि चर्चित गायिका एलिना चौहानसहित अन्य स्थानीय कलाकारहरूले प्रस्तुति दिने सांस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिए।
“जारी महोत्सवले राष्ट्रिय र स्थानीय कलाकारलाई विशेष प्राथमिकता दिएको छ,” खड्काले भने, “रोल्पा, सल्यान, रुकुम, दाङ लगायतका ठाउँहरूबाट दर्शक आउने क्रम जारी छ।”
तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीका अनुसार महोत्सव स्थानीय उत्पादनको बजारीकरण, पर्यटकीयस्थलको प्रचारप्रसार र कला-संस्कृतिको संरक्षणका लागि आयोजना गरिएको हो।
“हामीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै निःशुल्क स्टल उपलब्ध गराएका छौँ,” भण्डारीले भने, “स्थानीय कृषि तथा उत्पादनका स्टलहरू प्रवेशद्वारमै राखिएका छन्, जसले व्यवसायीहरूलाई थप उत्साहित बनाएको छ।”
महोत्सवमा विभिन्न जिल्लाका उद्यमीहरूले स्टल राखेका छन्। सांगीतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी र स्थानीय उत्पादनको प्रवर्द्धनका कारण महोत्सवमा दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस