after_navbar

रचनाको प्रस्तुतिमा उत्साहको माहोल


फागुन ०८, २०८१


दाङ, ८ फागुन । तुलसीपुरमा जारी दोस्रो तुलसीपुर महोत्सवको आठौं दिन लोकप्रिय गायिका रचना रिमाल, आशा बिसी लगायतका कलाकारहरूको शानदार प्रस्तुति रह्यो। दर्शकहरूको ठूलो उपस्थितिमा गायिका रिमालले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्दा माहोल झन् रमाइलो बनेको थियो।

ad

सम्झिने पानी छम्किने…फोटो फ्रेममा ..लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दै उनले दर्शकहरूलाई नचाउन सफल भइन्। उनको प्रस्तुतिसँगै उपस्थित दर्शकहरू उत्साहित बने, हातमा मोबाइल समातेर तस्बिर र भिडियो खिच्नेहरूको भिड देखिन्थ्यो।

ad

संगीतप्रेमीहरूले मात्र होइन, परिवारसहित आएका दर्शकहरू पनि कार्यक्रममा रमाएको देखिन्थ्यो। महोत्सव आयोजकका अनुसार कलाकारहरूको उत्कृष्ट प्रस्तुति र दर्शकहरूको जोशले महोत्सवको आकर्षण बढाएको छ।

ad

महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति लगातार भइरहेकाले अझै केही दिन कार्यक्रम रोमाञ्चक बन्दै गएको सांस्कृतिक संयोजक सन्तोष खड्काले बताए।

उनका अनुसार महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुतिसँगै नृत्य तथा लोकदोहोरी प्रतियोगिता समेत हुने गरेको छ। लोकप्रिय कलाकारहरूको उपस्थितिले प्रतिदिन दर्शकहरूको भीड बढ्दै गइरहेको उनले बताएका छन्।

आयोजकका अनुसार महोत्सवलाई थप व्यवस्थित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको छ। दर्शकहरू मनोरञ्जनसँगै किनमेल तथा विभिन्न खानाका परिकारको स्वाद लिइरहेका छन्।

भोलि पनि चर्चित कलाकारका साथ स्थानीय कलाकार पनि प्रस्तुति रहने साँस्कृतिक संयोजक खड्काले बताए ।

‘महोत्सवले स्थानीय तथा राष्ट्रिय कलाकारहरूलाई प्रस्तुत गर्ने अवसर प्रदान गरिरहेको छ ।’ उनले भने–‘दिनप्रतिदिन दर्शकको संख्या बढ्दै गएको छ ।’ महोत्सवमा दाङसहित सल्यान, रोल्पा, रुकुम पश्चिम, बाँके लगायतका जिल्लाबाट अवलोकन गर्न आउने गरेका छन् ।

मेला आयोजक तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय उत्पादनको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार, कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गरिएको बताए । महोत्सव फागुन १६ गतेसम्म चल्ने छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="