फागुन १६, दाङ । दाङ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको अध्यक्षमा अजय केसी चयन भएका छन्। संघको शुक्रबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले ९ सदस्यीय तदर्थ समिति विघटन गर्दै सर्वसम्मत रूपमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
संघको उपाध्यक्षमा दीपेन्द्र शाह र योगेश मल्ल, सचिवमा लक्ष्मण बस्नेत, कोषाध्यक्षमा भुपेन्द्र डाँगी चयन भएका छन्। सदस्यहरूमा राम भट्टराई, रीता थापा, ज्ञानुमाया बुढाथोकी, फर्साराम गौतम, माधव सुवेदी, भरत दर्नाल, पुरुषोत्तम पोखरेल र प्रदीप बस्याल रहेका छन्।
साधारण सभा तथा अधिवेशन उद्घाटन समारोह संघका अध्यक्ष अजय केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा दाङ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राकेश परियार र लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिट्नेस संघका सदस्य खिम जिएम विशेष उपस्थित थिए।
सो अवसरमा वक्ताहरूले फिट्नेसको विकास र विस्तारमा नयाँ नेतृत्वलाई सक्रिय भूमिका खेल्न सुझाव दिएका थिए। शरीरको सुन्दरता मात्र नभई स्वस्थ जीवनशैलीका लागि पनि फिट्नेस महत्त्वपूर्ण भएकाले यसलाई अझ व्यवस्थित रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरेका थिए।
त्यसैगरी, पहिलो बैठकले संघलाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझावका लागि सल्लाहकार समिति पनि गठन गरेको छ। अध्यक्ष अजय केसीको अध्यक्षतामा बसेको बैठकले आशिष कुमार श्रेष्ठ, दीपेन्द्र रिजाल, खिम जिएम, सुवर्ण बस्नेत, र मञ्जित बाठालाई सल्लाहकार चयन गरेको हो।
कार्यक्रममा जिल्ला भित्रका फिट्नेस क्लबका सञ्चालक, खेलाडी, खेलप्रेमी, युवा व्यवसायी तथा संघका पूर्व पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन संघका सचिव लक्ष्मण बस्नेतले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस