after_navbar

गाउँपालिका अध्यक्ष लागू औषध मुद्दामा दोषी ठहर


फागुन २१, २०८१


दाङ,२१ फागुन । गाउँपालिकाका अध्यक्षकै संलग्नतामा लागुऔषध कारोबारको घटना सार्वजनिक भएको छ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध मुद्दामा दोषी ठहर भएका छन्।

जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित गाउँपालिकाका नगर प्रहरी रघुनाथ प्रसाद धोबीलाई मंगलबार दोषी ठहर गरेको हो।

ad

निर्दोषलाई फसाउने खेलमा अध्यक्ष

२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा भारतीय नागरिक रामा गुप्ता (रामा साह) र जीतेन्द्र पासवानलाई फसाउने प्रयास भएको थियो। अध्यक्षकै योजनामा नगर प्रहरी धोबी र फरार अभियुक्त विवेकप्रसाद पाण्डे (मेन्टु)ले साह र पासवान चढेको मोटरसाइकल नजिक लागुऔषधको झोला फ्याँकेर फसाउन खोजेको आरोप लागेको थियो।

घटनापछि सदरमुकाम परासीमा व्यापक विरोध प्रदर्शन भएको थियो। प्रहरीकै मिलेमतोमा निर्दोषलाई फसाएको भन्दै आलोचना भएपछि प्रहरी प्रधान कार्यालय र लुम्बिनी प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए।

नवलपरासी अदालतले अध्यक्ष गुप्तालाई लागुऔषध मुद्दामा अप्रत्यक्ष संलग्न रहेको ठहर गरेको छ। गाउँपालिकाका नगर प्रहरी रघुनाथ प्रसाद धोबी पनि दोषी ठहर भएका छन्। फरार अभियुक्त विवेकप्रसाद पाण्डे अझै पक्राउ परेका छैनन्।

अदालतले दोषी ठहर गरे पनि सजाय निर्धारण फागुन २९ गते हुनेछ। लागुऔषध मुद्दामा २ वर्षदेखि १० वर्षसम्म कैद तथा १ लाखदेखि २० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ। अध्यक्ष गुप्तालाई भने आधा सजाय हुने व्यवस्था गरिएको अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिए।

अध्यक्ष गुप्ताको कबाडी व्यवसाय रहेको छ। उनी र भारतीय नागरिक साह तथा पासवानबीच करिब १ करोड ३५ लाख रुपैयाँ बराबरको कबाडी सामानको लेनदेनको विवाद रहेको खुलेको छ। सोही विवादका कारण अध्यक्ष गुप्ताले साह र पासवानलाई फसाएको आरोप लागेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="