दाङ, २२ फागुन – दाङको दंगीशरण गाउँपालिका र बबई गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ।
क्लोथ एण्ड फुड बैंक नेपालले बुधबार कपडा बैंक स्थापना गरेको हो। “हुनेले दिने, नहुनेले लिने” सिद्धान्तअनुसार पालिकाका कार्यालयहरूमा कपडा बैंक स्थापना गरिएको बैंकका केन्द्रीय अध्यक्ष कमल जीसीले जानकारी दिए।
यसका लागि दंगीशरण गाउँपालिकाले रु. २.५ लाख सहयोग गरेको छ भने बबई गाउँपालिकाले पनि आर्थिक सहयोग प्रदान गरेको छ। जीसीका अनुसार दुवै पालिकाको सहमतिमा कपडा बैंक स्थापना गरिएको हो, र अब नियमित रूपमा सञ्चालन गरिनेछ। बैंकको चाबी पालिकालाई हस्तान्तरण गरिएको छ।
अब पुराना कपडाहरू बैंकमा राख्न सकिनेछ, जसलाई सफा गरी आवश्यक व्यक्तिहरूलाई हस्तान्तरण गरिनेछ। साथै, कमजोर आर्थिक अवस्थाका परिवारहरूलाई केही कपडा समेत प्रदान गरिएको छ।
क्लोथ एण्ड फुड बैंक नेपालले अहिलेसम्म १६४ पालिकामा कपडा बैंक स्थापना गरिसकेको छ। एक लाखभन्दा बढी व्यक्तिलाई कपडा हस्तान्तरण गरिसकेको संस्थाको दाबी छ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले कपडा बैंकले जाडोमा गरिब परिवारलाई राहत दिने बताए। बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र वर्गीय विभाजन अन्त्य गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा दंगीशरण गाउँपालिकाकी उपाध्यक्ष पीमा कुमारी खड्का, बबई गाउँपालिकाकी उपाध्यक्ष बम कुमारी खड्का, दंगीशरणका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, बबईका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेँल, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरालगायतले समाज रुपान्तरणका लागि कपडा बैंक महत्वपूर्ण हुने धारणा राखेका थिए।कार्यक्रमको सहजीकरण पत्रकार सागर सुवेदीले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस