दाङ ७ चैत । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा धमाधम आउन थालेको छ। नजिताअनुसार प्रमुख दल निकट संगठनको अवस्था करिब–करिब उस्तै देखिएको छ। कांग्रेस निकट नेविसंघ पहिलो, एमाले निकट अनेरास्ववियु दोस्रो स्थानमा छ।
अहिलेसम्म आएको तथ्यांक अनुसार कांग्रेस निकट नेविसंघले १०९ क्याम्पसको नेतृत्व जितेको छ। एमाले निकट अनेरास्ववियुले ९१ क्याम्पसमा जितेको छ। माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले ८१ क्याम्पसमा जित हासिल गरेको बताएको छ। नेविसंघले काठमाडौंका ४ वटा आंगिकसहित १०९ आंगिक र सामुदायिक क्याम्पसमा जितेको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए। राजधानीका थापाथली इन्जिनियरिङ क्याम्पस, आयुर्वेद क्याम्पस, महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ क्याम्पसमा नेविसंघले जित हासिल गरेको छ। त्यसै गरेर दाङ को महेन्द्र बहुमुखी क्याम्पस, राप्ती बबई क्याम्पस नेविसंघले जितेको छ ।
अनेरास्ववियुले ११ वटा आंगिक क्याम्पससहित ९१ क्याम्पस जितेको प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए । जसमा काठमाडौंका तीनवटा आंगिक क्याम्पसमा अनेस्ववियुको नेतृत्व लिएको छ। काठमाडौंका महेन्द्र रत्न क्याम्पस ताहचल, ललित कला क्याम्पस र नेपाल कमर्स क्याम्पसमा अखिलको नेतृत्वले जितेको छ। यस्तै, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, धनकुटा बहुमुखी क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, धौलागिरी बहुमुखी क्याम्पस बागलुङ, पोखरा नरसिङ क्याम्पस, महेन्द्ररत्न क्याम्पस र नेपालगन्ज नर्सिङ क्याम्पस पनि अनेरास्ववियुले जितेको प्रवक्ता पौडेलले जानकारी दिए।
अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाका अनुसार काठमाडौंका दुईसहित ७ वटा आंगिक क्याम्पसमा क्रान्तिकारीले जित हात पारेको छ। जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस गरी दुईवटा आंगिक क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको छ। यस्तै, भोजपुर बहुमुखी क्याम्पस, विराटनगर डिग्री कलेज, नर्सिङ क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, चितवन इन्जिनियरिङ क्याम्पसमा पनि अखिल क्रान्तिकारीको नेतृत्व आएको छ। पुल्चोक इन्जिनिरिङ क्याम्पसमा भने स्वतन्त्र उमेदवार स्वयम श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्। यस्तै, इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा स्वतन्त्र उम्मेदवार प्रकाश धामी विजय भएका छन्। अन्नपूर्ण पोस्टबाट
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस