दाङ, २९ चैत। दाङको तुलसीपुरस्थित पब्लिक ज्ञानज्योती कलेज र काठमाडौंको इन्टरनेशनल स्कूल अफ टुरिज्म एन्ड होटल म्यानेजमेन्ट (आइएसटी) बीच द्विपक्षीय सम्झौता भएको छ। होटल म्यानेजमेन्ट अध्ययन गर्ने विद्यार्थीलाई उत्कृष्ट सीपमूलक सेवा दिने उद्देश्यले कलेजले यो सम्झौता गरेको हो। यस सम्झौताले विद्यार्थीलाई प्रयोगात्मक सिकाइका लागि सहजता प्रदान गर्नेछ ।
शुक्रबार एक कार्यक्रमबीच ज्ञानज्योती र आइएसटी कलेजबीच हस्ताक्षर गरिएको हो। ज्ञानज्योती एजुकेशन फाउन्डेसनका सिइओ सुरेन्द्र जिसी र आइएसटीका सिइओ नरेन्द्र बज्राचार्यले सम्झौतामा हस्ताक्षर गरेका हुन्। होटल म्यानेजमेन्ट विषय खाना पकाउने र खुवाउने विषय मात्र नभई जीवन उपयोगी शिक्षाको रूपमा लिनुपर्ने आइएसटीका सिइओ बज्राचार्यले बताए। दैनिक जीवनका लागि आवश्यक सीप, ज्ञान, अनुशासन, शिष्टता र संस्कारको विकास यसै विषयबाट हुने भएकाले यो आफैंमा महत्वपूर्ण भएको उनको भनाइ थियो।
सम्झौताले दाङबाट सीप सिक्नका लागि काठमाडौं गएका विद्यार्थीलाई अवसर खोज्न भौतारिनुपर्ने समस्याको समाधान गर्नेछ। उनका अनुसार इन्टर्नसिपका लागि काठमाडौं पुगेका विद्यार्थीलाई आइएसटीले अन्तर्राष्ट्रिय स्तरका तारे होटलहरूमा पठाउनेछ। सीप र दक्षताका आधारमा रोजगारीको लागि सहयोग र परामर्शसमेत प्रदान गरिनेछ। विद्यार्थीको कार्यकुशलता अनुसार स्वदेश तथा विदेशमा हुने विभिन्न अवसरमा सहभागी गराइनेछ। सो अवसरमा कलेज प्रमुख सम्झना बस्नेतले दुई वर्षअघिको परिकल्पनाअनुसार ज्ञानज्योतीसँग सम्झौता भएको बताइन्। उत्कृष्ट जीवनका लागि गरिएको लगानी खेर नजाने भन्दै विद्यार्थीलाई सिकाइमा केन्द्रित हुन अनुरोध गरिन्। ज्ञानज्योतीका विद्यार्थीलाई आवश्यकतानुसार आइएसटीले तालिमको समेत व्यवस्था गर्ने उनको भनाइ छ ।
विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विद्यालयले अन्तर्राष्ट्रिय स्तरको कलेजसँग सम्झौता गरेको फाउन्डेसनका सिइओ जिसीले जानकारी दिए। कक्षा ११ र १२ मा अध्ययन गरी उच्च शिक्षाका लागि काठमाडौं जाने विद्यार्थीलाई सम्झौता अनुसार सेवा र सहयोग प्रदान गरिने भएकाले यो विद्यार्थीका लागि सुनौलो अवसर भएको बताए। विगत १४ वर्षदेखि कलेजले यस विषयमा अध्ययन–अध्यापन गराउँदै आएको उनले जानकारी दिए। कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका सह–कोषाध्यक्ष दीपेश भण्डारी र वेस्टर्न पार्टी प्यालेस तुलसीपुरका म्यानेजर निर्मल न्यौपानेले दुई कलेजबीचको सम्झौताले विद्यार्थीमा थप ऊर्जा थपेको बताएका थिए। यो विषयले पाक शिक्षा मात्र नभई ज्ञान र सीपलाई परिपक्व बनाउँदै आत्मनिर्भर बन्ने दिशामा मार्गप्रशस्त गर्ने बताए ।
सो अवसरमा विद्यार्थीहरूले आफ्ना अभिभावक र शिक्षकसामु खाना प्रदर्शनीसमेत गरेका थिए। कार्यक्रम विद्यालयका एकेडेमिक कोअर्डिनेटर शरद गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम शिक्षक सन्तोष केसीले सहजीकरण गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस