दाङ, ३० चैत । शनिबार बिहानैदेखि दाङसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा वर्षा भइरहेको छ। दाङ सहित पाल्पा, रुपन्देही, गुल्मी, प्युठान, रोल्पा, बागलुङ, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यही क्षेत्रहरूमा हावाहुरी चट्याङ सहितको पानी परिरहेको छ। दाङमा हावाहुरी चट्याङ सहितको वर्षा भइरहेको छ।
हाल देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनअघि भारतबाट बंगालको खाडी हुँदै नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको सामान्य प्रभाव छ। अहिले अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव छ। ती प्रणालीहरुको प्रभावले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए।
पाल्पा, रुपन्देही, गुल्मी, बागलुङ, दाङ, प्युठान, रोल्पा, जुम्ला, कालीकोट लगायतका जिल्लाहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ती ठाउँहरूमा रातिदेखि नै वर्षा भइरहेको मौसमविद दाहालले बताए। वर्षा भइरहेको स्थानहरुमा पूर्णतया बदली र बाँकी भूभागहरूमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको पनि उनले बताए।
शनिबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा पनि पानी पर्ने सम्भावना रहेको उनले बताए।
त्यस्तै उच्च पहाडी तथा हिमाली भूभागहरूको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना छ। शनिबार राति कोशी र मधेस प्रदेशका भूभागहरुमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी भूभागहरूमा राति पनि हिमपातको सम्भावना रहेको मौसमविद् दाहालको भनाइ छ । काठमाडौंमा दिउँसोको समयमा हल्का वर्षाको सम्भावना छ। यद्यपि देशैभरि शनिबार अरू दिनभन्दा कम पानी पर्ने र आइतबार शनिबारभन्दा अझै कम पानी पर्ने पूर्वानुमान छ। मौसम क्रमिक रूपमा सुधार हुँदै जाने दाहालले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस