after_navbar

अधिवेशन गर्न नसकेका भ्रातृ संस्था भंग गर्दै काँग्रेस


चैत ३०, २०८१


काठमाडौँ,३१ चैत । नेपाली काँग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको केन्द्रीय नेतृत्व भंग गर्ने भएको छ । काँग्रेसले १३ भ्रातृ संस्थाहरूलाई यस वर्षको चैत महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो ।
पार्टीले उपलब्ध गराएको समय सीमाभित्र ५ भ्रातृ संस्थाले महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन गरेका छन् । तदर्थ समिति रहेका सात भ्रातृ संस्थाले अधिवेशन गर्न सकेनन् भने ठाकुर संघमा तदर्थ समिति समेत छैन । 

ad

प्रमुख भ्रातृ संस्थाका रूपमा परिचित नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघले अधिवेशन गरेर नयाँ नेतृत्व ल्याउन सकेनन् । महाधिवेशन गर्न नसक्ने अन्य भ्रातृ संस्थाहरूमा किसान महासंघ, दलित संघ, तामाङ संघ र मगर संघ छन् । काँग्रेसका एक पदाधिकारी अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थाहरू भंग हुनेछन् । भ्रातृ संस्थाहरूमा नयाँ समिति कुन विधिबाट ल्याउने बारे पार्टी बैठक बसेर मात्रै निर्णयमा पुगिने उनले बताए ।

ad

यसबीचमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, लोकतान्त्रिक अपांग संघ, भूतपूर्व सैनिक संघ, प्रजातान्त्रिक सेनानी संघ र मुस्लिम संघले अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् । लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा ओमबहादुर घर्तिमगर, लोकतान्त्रिक अपांग संघमा माधव चम्लगाईं, भूतपूर्व सैनिक संघमा गर्जबहादुर गुरुङ, प्रजातान्त्रिक सेनानी संघमा बालकृष्ण दाहाल र मुस्लिम संघमा अताबुल मन्सुरीको नेतृत्वमा नयाँ कार्यसमिति बनेको छ । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र लोकतान्त्रिक अपांग संघले पहिलो पटक महाधिवेशन गरेका हुन् ।

ad

नेविसंघमा दुजाङ शेर्पा, तरुण दलका विद्धान गुरुङ, महिला संघमा उषा राउत मिश्र, किसान महासंघमा गणेश तिमिल्सिना र दलित संघमा लोकबहादुर विश्वकर्मा तदर्थ समितिका सभापति छन् । नेविसंघ ७५२, तरुण दल ४०१, महिला संघ ५३, किसान महासंघ ४६ सदस्यीय तदर्थ समिति छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="