सल्यान,२२ पुस। सल्यानमा भुकम्प प्रभावितहरुका लागि जीविकोपार्जन कार्यक्रम सन्चालन भएको छ। नेपाल रेडक्रस सोसाइटीले दार्मा गाउँपालिकाका भुकम्प प्रभावितहरुको जीविकोपार्जनमा सहयोग पुर्याउने उदेश्यले शसर्त अनुदान कार्यक्रम सञ्चालन गरेको हो ।
जीविकोपार्जन कार्यक्रम अन्तर्गत गाउँपालिकाका ६ वटा वडाका १९३ घरपरिवारलाई प्रतिव्यक्ति ५० हजार रुपियाँका दरले नगद अनुदान प्रदान गरिएको रेडक्रस सोसाइटी सल्यानका कार्यक्रम संयोजक जगत तामाङले जानकारी दिए। उनका अनुसार अनुदान कार्यक्रम अन्तर्गत लाभग्राहीले कुल ९६ लाख ५० हजार रुपियाँ प्राप्त गर्ने छन् ।
पहिलो किस्तामा प्रतिव्यक्ति २५ हजार वितरण भइसकेको छ भने दोस्रो किस्ताका लागि अनुगमन प्रक्रिया जारी रहेको उनले बताए । अनुदान प्राप्त गर्ने लाभग्राहीले विभिन्न व्यवसाय सञ्चालन गरिरहेका छन् ।
बाख्रापालनमा १२८ जना, भैँसीपालनमा ३७, सिलाइकटाइमा आठ, किराना पसलमा सात, आरन उद्योगमा चार, कुखुरापालनमा चार, कुटानी पिसानीमा दुई, खाजानास्ता होटलमा एक, तरकारी खेतीमा एक र तरकारी तथा फलफूल पसलमा एक जना संलग्न भएका छन् ।
भूकम्पपीडित दार्मा गाउँपालिका–५ का वीरेन्द्रप्रकाश खड्काले जीविकोपार्जन कार्यक्रमले राहत भएको बताए । उनका अनुसार पीडित परिवारले आयआर्जनको काम पनि सुरु गरिसकेका छन् । सोही वडाका पदमी कामीले किराना पसल सुरु गरेको र त्यसबाट आफूलाई आयआर्जनका लागि सहयोग पुगेको जानकारी दिए।
भूकम्प प्रभावितलाई प्रदान गरेको रकमबाट बाख्रापालन गर्ने किसानले रकमबाट तीन वटासम्म बाख्रा किन्ने तथा गोठ र खोर आफैँले बनाउने छन् भने भैँसीपालन गर्ने किसानले केही रकम आफूले थपेर लैनो भैँसी किन्नुपर्ने छ ।
कार्यक्रम संयोजक तामाङले भूकम्प प्रभावितले पेसा व्यवसायमा सहयोग होस् र जीविकोपार्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले ससर्त अनुदान रकम प्रदान गरिएको बताए।
रेडक्रसको यो पहलले विपन्न किसानलाई आत्मनिर्भर बन्न र आफ्नो जीविकोपार्जन सुधार गर्न मद्दत पुगेको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए। उनका अनुसार अनुगमन गरेर भूकम्प प्रभावितमध्ये पनि अति विपन्न परिवार छनोट गरेर यो कार्यक्रम जोडेको जानकारी दिए।
भूकम्पले धेरैको घरबास गुमेकाले क्षतिपूर्तिस्वरूप उक्त कार्यक्रम सञ्चालनले उनीहरूको आयआर्जन र पेसा व्यवसायमा ठुलो सहयोग पुगेको अध्यक्ष केसीले बताए।
भूकम्पबाट दार्मा गाउँपालिकामा चार हजार ८० जना सर्वसाधारणको घरमा क्षति पुगेको थियो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेसमबहादुर वलीले भूकम्पबाट ३६ विद्यालय, नौ स्वास्थ्य संस्था, दुई वडा कार्यालय, १२ खानेपानी, सिँचाइ र सडक गरी ५९ वटा सार्वजनिक संरचनामा आंशिक क्षति पुगेको बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस