पर्सा,२४ पुस। पर्सामा वाइफाईको विषयमा विवाद हुदा नाती/नातिनीले हजुरबुवाको हत्या गरेका छन् । पक्राउ पर्नेमा पोखरिया नगरपालिका-८, जगतपुर बस्ने २० वर्षीय खुश्बु खातुन र १८ वर्षीय काबुल देवान रहेका छन्।
उनीहरूलाई मंगलबार पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।
उनीहरूले ८० वर्षीय हजुरबुवा रामजान देवानलाई सोमबार राति घरायसी विवादको क्रममा कुटपिट गरी हत्या गरेको लम्सालले बताए।
कुटपिटबाट गम्भीर घाइते भएका रामजानलाई वीरगञ्ज हेल्थ केयर हुँदै न्युरो अस्पताल वीरगञ्ज पुर्याइएको थियो। उपचारको क्रममा मंगलबार बिहान उनको मृत्यु भएको लम्सालले बताए।
‘घरमा वाइफाईको विषयमा सामान्य विवाद हुँदा हजुरबुवालाई कुटपिट गरेको अनुसन्धानमा खुल्न आएको छ,’ लम्सालले भने, ‘सामान्य कुटपिट हुँदा घाइते भएका हजुरबुवाको अस्पतालमा मृत्यु भएपछि संलग्नहरूलाई पक्राउ गरिएको हो।’
लम्सालका अनुसार हजुरबुवाले वाइफाई बन्द गर्न नाति/नातिनीलाई भनेका थिए, जसमा नाति/नातिनी असहमत हुँदै हजुरबुवामाथि खनिएका थिए।
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न छोराछोरीलाई पक्राउ गरेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस