लुम्बिनीमा माघ पर्व उत्सव: मौलिक कला र संस्कृतिलाई आयआर्जनसँग जोड्ने सरकारको योजना


७ घण्टा अगाडि


दाङ,२ माघ। लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा माघ मिलन कार्यक्रम आयोजना गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित कार्यक्रममा थारु, मगर, नेवारलगायत समुदायको सांस्कृतिक पहिचान झल्काउने झाँकी प्रस्तुत गरिएको थियो। कार्यक्रममा थारु समुदायका परम्परागत परिकार ढिक्री, खरिया, बरिया, र फुलौरी पस्किएर स्थानीय खानाको प्रवर्द्धन गरिएको थियो।

मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यक्रम उद्घाटन गर्दै मौलिक कला र संस्कृतिको संरक्षणलाई आर्थिक आयआर्जनसँग जोड्ने योजना प्रदेश सरकारले अघि सारेको बताए।

उनले भने, “माघे संक्रान्ति सबै समुदायलाई जोड्ने साझा पर्व हो। यसले लुम्बिनी प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउँदै एकता कायम गर्न सहयोग गरेको छ। कला र संस्कृतिलाई पर्वमा सीमित नगरी दैनिक जीवनमा पनि संरक्षण र प्रबर्द्धन गर्न जरुरी छ।”

मुख्यमन्त्री आचार्यले थारु र मगर समुदायको कला र संस्कृतिको संरक्षणका लागि होमस्टे सञ्चालनमा सिप हस्तान्तरण गरिने र बजेटको व्यवस्था गरिएको जानकारी दिए। “समुदायको आर्थिक सशक्तीकरण बिना समृद्धि र विकासको चाहना पूरा हुँदैन। यसैले, कला र संस्कृतिको संरक्षण र प्रबर्द्धन आवश्यक छ,” उनले भने।

सभामुख तुलाराम घर्तीमगरले माघ पर्वले मौलिक कला र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले भने, “पहिचानहरूको संरक्षण गर्न सभ्यता जोगाउनु आवश्यक छ। प्रदेश सरकार स्थापनादेखि नै यसमा सक्रिय छ।”

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले माघ पर्वले समुदायमा भावनात्मक एकता कायम गर्दै आर्थिक गतिविधि विस्तार गर्न मद्दत गरेको उल्लेख गरे। प्रदेश सभा सदस्य निम गिरीले मौलिक कला र संस्कृतिको सम्बर्द्धन सबैको साझा मुद्दा भएको बताए ।

कार्यक्रमको अध्यक्षता आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालले गरेका थिए। सचिव रेखा कँडेलको स्वागत मन्तव्य र वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेको सहजिकरणमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="