धनगढी : प्रहरी सहायक निरीक्षक गोबिन्द विकसँगै वेपत्ता रहेका कैलालीको जुगेडा अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको मोहना नदीमै शव फेला परेको छ । शनिबार राती तस्करहरुले प्रहरी सहायक निरीक्षक गोविन्द विकको हत्या गरेपनि जवान साउद भने वेपत्ता थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेकाको प्रारम्भिक बयानका आधारमा जवान साउदको शव फेला परेको जनाएको छ । उनको शव प्रहरी सहायक निरीक्षक विकको शव पाएको भन्दा उत्तरतिर मोहना नदीकै बीचमा बालुवामुनि पुरिएको अवस्थामा फेला परेको हो ।
घटना विवरण अनुसार शनिबार राती असई विकलाई ठूलो परिमाणमा सामान भारततिर तस्करी भइरहेको सूचना आएको थियो । बेलुकीको खाना खाएर, उनी जवान साउदलाई साथमा लगेर मोहना नदी भएको सीमातिर लागे । दुबैजनाले चढेको मोटरसाइकल बस्तीमा एकजनाको घरमा राखे र तस्करी हुने स्थानमा ढुकी राखे ।
रातीको १० बजेतिर तस्करीको चार डल्लब सामान सीमामा पुग्यो । असई विक र जवान साउदले सो सामान पक्राउ गर्न खोज्दा तस्करसँग मुठभेड भएको प्रहरीको अनुमान छ । असई विकको शव मोहना नदीमा आइतबार बिहान फेला परेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस