काठमाडौं । नेपालबाट विदेश निर्यात पहिलोपटक एकै वर्षमा १ खर्बभन्दा बढी पुगेको छ।
अहिलेसम्म कुनै आर्थिक वर्षमा पनि १ खर्ब रुपैयाँबराबरको वस्तु विदेश निर्यात हुन नसकेकोमा चालू आर्थिक वर्षको १० महिना अवधिमा नै १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको हो।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷०७८ को दश महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ८ अर्ब ४८ करोड पुगेको हो।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ३५.८ प्रतिशत र २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा १८.४ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ।
गत वर्षको तुलनामा नेपालको वस्तु निर्यात बढे पनि आयतको तुलनामा भने सन्तुष्ट हुने स्थिति छैन। आर्थिक वर्ष २०७७÷७८ को दश महिनामा कुल वस्तु आयात २२ दशमलव ३ प्रतिशतले वृद्धि भई१२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २९.८ प्रतिशत, १७.२ प्रतिशत र ६.२ प्रतिशतले वृद्धि भएको छ।
वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ।
यसरी हेर्दा आर्थिक वर्ष २०७७÷७८ को दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो । – नेपालखबरबाट
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस