काठमाण्डाै । नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । ओमिक्रोन पुष्टि भएका ६६ वर्षीय ती व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मंसिर ३ (१९ नोभेम्बर) मा नै नेपाल आएका थिए ।
२४ नोभेम्बरमा मात्र विश्व स्वास्थ्य संगठनले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको पुष्टि गरेको थियो । दक्षिण अफ्रिकामा ९ नोभेम्बरमा लिइएको नमुना परीक्षण गर्दा २४ नोभेम्बरमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि हुनुअगावै ती व्यक्ति नेपाल प्रवेश गरिसकेको विमानस्थलको रिपोर्टले देखाउँछ ।
हाल ओमिक्रोन भाइरस देखा परेका व्यक्ति अफ्रिकी मुलुक हुँदै नेपाल आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाल आउँदा ती व्यक्तिले विमानस्थलमा देखाएको पिसिआर रिपोर्ट नेगेटिभ र दुवै डोज खोप लगाएको प्रमाण बोकेका थिए । तर, केही दिनपछि ती व्यक्तिमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएको थियो । त्यसपछि उनी र उनकाे सम्पर्कमा आएका अर्का व्यक्तिको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।
रिपाेर्ट पोजेटिभ आएपछि उनीहरूको एस–जिन परीक्षण गर्दा एस–जिन फेला परेन । एस–जिन फेला नपरेपछि दुवैको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा मंसिर १९ गते आइतबार नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भयो । नयाँ भेरियन्ट पुष्टि भएपछि सरकारले संक्रमित दुवैजनालाई आइसोलेसनमा राखेको छ । हाल उनीहरूमा कुनै लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ । तर, सरकारले ओमिक्रोन भित्रिन नदिन सामान्य चेकजाँचबाहेक कुनै सावधानी अपनाएको छैन ।
नयाँ भेरियन्ट पुष्टि भएका दुवै व्यक्तिको सम्पर्कमा आएकाहरूमा कन्ट्याक ट्रेसिङ गर्दा ओमिक्रोन नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयले ६६ जनाको एस–जिन तथा पिसिआर परीक्षण गरेको थियो । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस