ब्राजिलियन स्टार नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।
अघिल्लो दिन रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति फेरि खेलाइएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५-१ ले पराजित गरेको हो ।
मंगलबार राति भएको खेलमा बासाकसेयरका सहायक प्रशिक्षक पिएरे वेबोलाई म्याचको फोर्थ अफिसियलले रंगभेदी व्यवहार गरेपछि खेल स्थगित भएको थियो र दुवै टिमका खेलाडीहरु मैदानबाट बाहिरिएका थिए । त्यसपछि युईएफएले यसबारे अनुसन्धान गर्ने र खेल फेरि सुरु गराउने बताएको थियो ।
पीएसजीका लागि नेमारले ह्याट्रिक गर्दा बाँकी दुई गोल किलएन एमबाप्पेले गरे ।
जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समान अंक भएपनि हेड टु हेडमा अवे मैदानमा गोल गरेका आधारमा आरबी लाइपजिग भने दोस्रो स्थानमा रह्यो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस