दाङ,७ असोज। तुलसीपुरमा रहेको मावि तुलसीपुर सेन्टरले देशभरमै सर्वोत्कृष्ट नतिजा ल्याएको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक, सामाजिक पक्षको आधारमा नेपाल सरकारले विद्यालयलाई देशभरकै उत्कृष्ट विद्यालयको रुपमा पुरस्कृत समेत गरिसकेको छ । सरकारले उत्कृष्ट विद्यालय घोषणा गरेसंंगै विद्यालयले बिजयी उत्सव मनाएको छ ।
सोमबार विद्यालयले र्याली निकालेर बजार परिक्रमा गरेको हो । सरकारले प्रदान गरेको मेडलसिल्ड, प्रमाणपत्र र ध्वजासहित र्यालि निकालेर खुसी मनाएको हो ।
लगातार तीन वर्षदेखिको एसईई र कक्षा १२ को नतिजा र शैक्षिक गतिविधिको आधारमा मुल्यांकन गरी नेपाल सरकार शिक्षा मन्त्रालयले विद्यालयलाई २०८१ को शिक्षा दिवसको अवसरमा पुरस्कृत गरेको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए ।
कुनै समयमा शैक्षिक र भौतीक रुपमा जीर्ण रहेको विद्यालयले अहिले सर्वोत्कृटता प्राप्त गर्दा जिल्लाको गौरव बढेको उनले बताए। वि.सं २०६६ अघि विद्यालय जस्तो नभएको अवस्थामा रहेको विद्यालयले १५ वर्षपछि इतिहास बनाउन सफल भएको उनको भनाई थियो ।
‘ न यहाँ विद्यार्थीको सँख्या थियो, न विद्यालयको भवन नै राम्रो थियो, कुनै प्रकारको शैक्षिक उपलव्धी थिएन, अझ भनौ अरु वातावरणीय हिसावले यो विद्यालय भन्न लायक थिएन उनले भने-‘ वि.सं. २०६६ पछि हामीले सबै निकायहरूसँग समन्वय गरेर यो विद्यालयको हितमा काम गर्यौँ, सबैको साथ सहयोगले अहिले विद्यालयले शैक्षिक, भौतिक, आर्थिक, जनशक्ति र पूर्वाधारको हिसाबले उत्कृष्ट बन्न सफल भएको छ । आज देशले चिन्न सफल भएको छ । यो जिल्लाको लागि एउटा इतिहास र सम्पत्ति बनेको छ । ’
प्रधानाध्यापक पौडेलका अनुसार अहिले विद्यालयमा तीनहजार बिद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई विद्यालयले विभिन्न परियोजनामा निःशुल्क पढाउँदै आएको छ । विद्यालयले शिक्षक र विद्यार्थीहरुको मात्र नभई समुदायको सम्पत्ती भएको र यसको हितमा सबैले काम गर्नुपर्ने उनले बताए ।
विद्यालयले अध्ययनअध्यापन गराउने काम मात्र नभई उनीहरुलाई प्राविधिक शिक्षा समेत प्रदान गर्दै आएको छ । यसका साथै अभिभावकलाई पनि तालिम दिने र उनीहरुलाई रोजगारमा संलग्न गराउने काम पनि विद्यालयले गर्दै आएको उनले जानकारी दिए । २ वर्षमा ६० हजार बराबरको छात्रवृत्ति प्रदान गर्नेगरी सिप सिकाउने र रोजगारीको अवसर प्रदान गर्दै आएको उनले बताए
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले राष्ट्रिय स्तरमा विद्यालयले आफुलाई चिनाउन सफल भएको भन्दै प्रशंसा गरिन् । उनले अन्र्तराष्ट्रिय स्तरमा पनि विद्यालयलाई चिनाउन सबैको साथ र सहयोगको खाँचो रहेको बताइन् । विद्यालयको व्यवस्थापकीय पक्षलाई मात्र नभई बालबालिकाको भविष्यका विषयमा पनि छलफल, सल्लाह सुझाव दिन अभिभावकलाई आग्रह गरिन् ।
विद्यालयको प्रयासले मात्र सबैकुरा सम्भव नहुने बताउँदै उनले स्थानीय सरकार, नागरिक समाज र सिंगो समुदायको साथ जरुरी रहेको उल्लेख गरिन् । स्थानीय सरकारले विद्यालयको थप प्रगतिका लागि आवश्यक नीति र बजेटको व्यवस्था गर्ने आवश्वासन समेत दिइन् ।
वडा नं. ६ का वडाअध्यक्ष दुजमान भण्डारीले नेतृत्व कुशल भयो भने अगाडी बढ्न सकिन्छ भन्ने कुरालाई विद्यालयको नतिजाले प्रमाणित गरेको बताए । सरकारी विद्यालय भन्दा नाक खुम्चाउने अवस्थालाई पार लगाउँदै विद्यालय यस्तो हुनुपर्छ भन्ने उदाहरण यस विद्यालय बन्न सफल भएको उनले बताए ।
यो उपलव्धी र नतिजालाई जोगाइराख्नका लागि थप शसक्त भएर लाग्नुपर्ने उनको भनाई थियो । उपमहानगरभित्र ८२ वटा सामुदायिक विद्यालय सञ्चालन भइरहँदा श्रोतसाधन सम्पन्न विद्यालयहरुको अवस्था र यस विद्यालयको अवस्थामा ठुलो अन्तर रहेको भन्दै प्रसंशा व्यक्त गरे।
विद्यालयका पूर्व विद्यार्थी डा. किशोर खत्रीले दुःख पछिको सुखले आनन्द र खुशी दिन्छ भन्ने कुराको प्रमाणित विद्यालयले गरेको बताए । विद्यालयले रहेक कुरामा सफलताको शिखर चुमेको भन्दै प्रसंशा गरे ।
विद्यालयले उत्कृष्ट नतिजा ल्याउदा बिद्यार्थी र अभिभावक पनि निकै खुसी देखिन्छन् । बालबालिकाको भविष्यमा गरिएको लगानी र त्यसको प्रतिफल बिद्यालयले प्राप्त गर्ने पुरस्कार र समानमा देख्न पाउँद
आफुहरु प्रफुल्ल भएको अभिभावकहरुको भनाइ छ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक भोला पौडेलले गरेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस