दाङ,१९ मंसिर । तुलसीपुर उपमहानगरपालिका भाडामुक्त पालिकारुपमा बन्न थालेको छ । उपमहानगरपालिकाका १८ वटै वडा कार्यालयहरुले आफ्नै भवनबाट सेवा दिइरहेका छन् ।
भाडामा रहेको तुृलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ लेसमेत अब भने आफ्नै भवनबाट सेवा सुरु गर्र्न थालेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाको सेवा आफ्नै भवनबाट सुरु गर्नका लागि संरचना निर्माण कार्यलाई प्राथमिकता क्रममै राखिएको बताए ।
उनले वडा कार्यालय,स्वास्थ्य चौकी,कृषि,पशु शाखालगायत पालिकाअन्तर्गतका आफ्नै भवनबाट नगरवासीलाई सेवा दिने गरी काम अघि बढेको बताए ।
नगरप्रमुख खड्काले पालिका भाडामुक्त बन्न थालेपछि रकम बचतका साथै पालिकाका जग्गाको संरक्षणसमेत हुन थालेको बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ले हाडिमेबाट सेवा दिदै आएको थियो । औपचारिकरूपमा मङ्सिर २२ गतेबाट तोप्पापानीमा नव निर्मित वडा कार्यालय भवनबाट सेवा दिने वडाध्यक्ष प्रेमनाथ योगीले बताए ।
योगीका अनुसार हाडिमेमा वडा कार्यालय सञ्चालनका लागि मासिक १३ हजार पाँच सय भाडा बुझाउँदै आएको थियो ।
वडाध्यक्ष प्रेमनाथ योगीले वडाको मध्यभागमा रहेको वडा भवनको प्राङ्गन सम्याउने काम सुरु भएको र सुरक्षाका लागि पर्खाल निर्माणको काम सुरु गरिएको बताए ।
त्यस्तै भाडाबाटै सञ्चालन हुँदै आएका कृषि र पशु शाखासमेत आफ्नै भवनबाट सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीले बताए।
उनले पालिकाका सबै शाखा,स्वास्थ्य संस्थाहरु क्रमशः आफ्नै भवनबाट सेवा दिन सुरु गरिएको बताए ।
कृषि शाखाका प्रमुख धनराज गौतमले मासिक ३३ हजार दुवै शाखाको भाडा तिर्दै आएकोमा मङ्सिर महिनाबाट भने आफ्नै भवनबाट सेवा सुरु गरेको बताए ।
पालिकाका स्वास्थ्य संस्थासमेत भाडामुक्त बन्न थालेका छन् ।
अहिले वडा नम्बर ५ र ६बाहेकका सम्पूर्ण स्वास्थ्य संस्थाहरू आफ्नै भवनबाट सेवा प्रवाह गरिरहेको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानले बताए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस