सुनसरी,१६ फागुन । लगातार दुई दिनसम्म परेको असिनासहितको हुरीबतासले सुनसरीका किसानले लगाएको केराखेतीमा ठूलो क्षति पुर्याएको छ। हुरीका कारण इनरूवा, भोक्राहा नरसिंह, गढी गाउँपालिका, हरिनगर र देवनागञ्ज क्षेत्रका अधिकांश केराका बोट ढलेका छन्।
भोक्राहा नरसिंह गाउँपालिका–२ का किसान जब्बार मियाँले १४ बिघा क्षेत्रफलमा सामूहिक केराखेती गरेका थिए। करिब ५० लाख रुपैयाँ लागतमा गरिएको यो खेती हुरीबतासका कारण तहसनहस भएको छ। मियाँले बताएअनुसार दुई महिनापछि बजार पठाउन मिल्ने अवस्थामा रहेका केरा नष्ट हुँदा किसानलाई ठूलो आर्थिक क्षति पुगेको छ।
उनकै जस्तै इनरूवा–८ का खुर्सीद अन्सारीले दुई बिघामा नौ लाख रुपैयाँ लगानी गरेर केराखेती गरेका थिए। तर, हुरीका कारण उनको खेतमा लगाएको अधिकांश केराका बोट ढलेका छन्। “लगानी उठाउने आशामा थियौं, तर प्राकृतिक प्रकोपले सबै नोक्सान गर्यो,” उनले भने।
इनरूवा केरा पकेट समितिका अध्यक्ष हरि मेहताका अनुसार सुनसरीका विभिन्न स्थानमा गरी करिब १०० बिघा क्षेत्रफलमा गरिएको केराखेतीमा व्यापक क्षति पुगेको छ। “करिब एक करोड रुपैयाँ बराबरको केराखेती नष्ट भएको छ,” मेहताले बताए।
हुरीबतासका कारण केवल केराखेती मात्र नभई गहुँ र मकै खेतीमा पनि क्षति पुगेको स्थानीय किसानहरू बताउँछन्। किसान श्यामकुमार यादवका अनुसार यस वर्ष सुनसरीमा केराखेतीमा अहिलेसम्मकै ठूलो नोक्सानी भएको छ।
कृषि ज्ञान केन्द्र इनरूवा सुनसरीका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा वार्षिक रूपमा ५२० हेक्टर (१,००० बिघा) क्षेत्रफलमा केराखेती हुँदै आएको छ। “हुरीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिँदै छ, आवश्यक राहतका लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ,” उनले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस