दाङ,२१ फागुन ।तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातेको छ। आगामी चैत २ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ। बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
संस्थाको नयाँ नेतृत्वका लागि नेकपा माओवादी केन्द्रसहित सात दलबीच उम्मेदवारको भागवण्डा लगभग टुंगिएको छ। माओवादी केन्द्रका अनुसार गठबन्धनबाट अध्यक्ष पदमा बहालवाला उपाध्यक्ष सीताराम शर्मालाई अघि सार्ने निर्णय यसअघि नै भइसकेको छ। माओवादीसहित राष्ट्रिय जनमोर्चा, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, नेकपा विप्लव, नेकपा क्रान्तिकारी र नेसपा मिलेर साझा उम्मेदवारी दिने तयारीमा छन्।
दलहरूबीच उपाध्यक्ष पद राष्ट्रिय जनमोर्चालाई दिने सहमति भएको छ तर जनमोर्चाले उम्मेदवारको टुंगो लगाएको छैन। सचिव पद नेकपा विप्लवलाई दिने सहमति भएको छ भने कोषाध्यक्ष पद माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच दाबी भइरहेकाले अन्तिम टुंगो लाग्न बाँकी रहेको माओवादी नेताहरूले बताएका छन्। गठबन्धनको सहमतिअनुसार माओवादीले अध्यक्षसहित दुई सदस्य, राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष, नेकपा विप्लवले सचिव, राष्ट्रिय स्वतन्त्र पार्टीले कोषाध्यक्ष, एकीकृत समाजवादीले दुई सदस्य, र नेकपा क्रान्तिकारीले एक सदस्य पाउने भएका छन्।
यसैबीच, नेपाली कांग्रेसले भने आफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेको छ। कांग्रेसले हालका अध्यक्ष यमकान्त भण्डारीलाई पुनः अध्यक्ष पदमा अघि सारेको छ। उपाध्यक्षमा नारायण शर्मा, सचिवमा रन्जन गौतम, र कोषाध्यक्षमा भोला थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। हालका कोषाध्यक्ष रहेका थापा यसअघि स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए।
नेकपा एमालेले पनि आफ्नो उम्मेदवार घोषणा गरिसकेको छ। पार्टीले अध्यक्ष पदका लागि मनोज लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि सो पदका लागि हालका सचिव सेवकराम भण्डारी र पूर्व सचिव लामिछानेबीच दौड चलिरहेको थियो। अन्ततः एमालेले लामिछानेलाई अघि सार्ने निर्णय गरेको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस