म जन्मदा केही कुरा पनि स्थिर थिएन । न देशको अवस्था न त मेरो परिवारको आर्थिक अवस्था नै। देशमा माओवादी युद्घ भर्खर सुरु भएको थियो। देश राजनीतिक अस्थिरता तर्फ अगाडि बढेको थियो। यता, हाम्रो आर्थिक अवस्था पनि स्थिर थिएन। नेपालमा तीन खानदानको इज्जत र प्रतिष्ठा थियो ।मुख्य बगाल, पटवारी बगाल र साहु खलक। हाम्रो परिवार साहुखलकको एउटा हिस्सा थियो।
त्यो जमानामा पूरा गाउँलाई हाम्रो ठूलो बाबाको नामले चिन्दथे। यो साहुटोलको साइलाको कान्छो छोरो। मेरो परिचय यसरी दिन्थे त्यो गाउँका मानिस। मैले सुने अनुसार हाम्रो पनि चार÷पाँच जना काम गर्ने मान्छे थिए रे । तर त्यो एकादेशको कहानी जस्तो थियो जतिबेला म थाहा पाउने भए। सहरीकरण र सुविधा खोज्दै मेरा बा–आमा पनि आसाम हुँदै दाङ झर्नु भएको थियो । त्यो बेला साहु खलक । उहाँहरुसँग पैसा टन्नै थियो रे। तर विलासिताको जीवन र गलत मान्छेसँगको भेटले गर्दा अधिकांश पैसा सकिएको थियो रे। जे जति बच्यो त्यो जोडेर उहाँहरुले केही वर्ष त्यसको भोग गरी यो संसार छोडेर जानुभयो। अहिले मेरो काधमा त्यो विरासत र इज्जत फर्काउने जिम्मेवारी आएको छ। तर कसरी ? यो वैश्य युगमा मसँग विकल्प ज्यादै कम छन् ।
सन 1995 र त्यसपछि जन्मिएका म जस्ता हजारौं नेपाली युवाले देशको अवस्था र विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनलाई नजिकबाट देख्ने र भोग्ने अवसर पायौं। कतिपय राजनीतिक आन्दोलनमा म आफै पनि सरिक भएको छु। देशमा यो व्यवस्था ठिक भएन यो व्यवस्था आयो भने जनताले अधिकार र न्यायको महसुस गर्न पाउँछन भन्ने स्कुलिङ मलाई गराइएको थियो सोही अनुरुप म पनि २०६२\ ६३ को १९ दिने जनआन्दोलनमा सरिक भएको थिए। त्यो बेला बच्चै थिए। जिन्दाबाद र मुर्दाबाद, फलानो चोर देश छोड भन्दै कराउँदै हिडियो। अहिले बुझ्दैछु को चोर रहेछ। को देश छोड्नुपर्ने मान्छे रहेछन भनेर।
राजनीतिक रुपमा म लेफ्ट अफ सेन्टरमा बस्न चाहने मान्छे हुँ। समाज हिजोभन्दा आज र आजभन्दा भोलि समृद्धिको मार्गमा अगाडि बढ्नु पर्छ र जनताले समानता र न्यायको महसुस बराबर रुपमा गर्नुपर्दछ भन्ने मान्यता बोकेर हिँड्ने म जस्तालाई के थाहा राजनीतिको रङ ग्रे हुन्छ भनेर। मैले माओवादी युद्ध, राजाको शासन र गणतान्त्रिक शासन व्यवस्थालाई नजिकबाट देख्न र भोग्न पाए। जुनसुकै व्यवस्था आए पनि जनताको अवस्थामा किन परिवर्तन आउन सकेन भन्ने प्रश्नले हमेशा म जस्ता हजारौं नेपालीलाई घचघचाउँछ होला । देशमा अवस्था परिवर्तनको राजनीति गर्छु भनेर आएकाहरु सँग केही आशा बाँकी थियो तर अहिले फेरि अर्कै नारा लगाएर देशलाई अस्थिर बनाउन खोजिँदैछ।
हाम्रो देशलाई विभिन्न एजेन्डा र नारा दिँदै आखिर कसले पेन्डुलम बनाउन खोज्दैछ भन्ने कुरा अब सारा नेपालीले बुझ्न र राजनीतिक रुपमा सचेत भई भोटको माध्यमद्धारा त्यस्ता तत्त्वलाई परास्त गर्न आवश्यक छ। हामीसँग दुईवटा विकल्प छन् ।
पहिलो दल होइन मत परिवर्तन गर्दै देशमा अवस्था परिवर्तन गर्न सक्ने व्यक्ति छान्ने, दोस्रो सडक संघर्षद्धारा यी पापी र भ्रष्ट नेतालाई यहाँबाट लखेट्ने।
हामी अब गर या मरको अवस्थामा नजाने हो भने देश बिस्तारै सकिँदै जान्छ र हाम्रो टाउकोमा ऋणको भार थपिँदै जान्छ। यिनीहरुले गर्ने भ्रष्टाचारमा हामीलाई ऋण बोकाउँदै छन ।हामी बलियो र समृद्ध नभएको कारणले गर्दा नै हो विदेशीले हामी माथि खेल्ने ।
उनीहरुलाई थाहा छ हाम्रो नेताको कमजोरी के हो भनेर। उनीहरुले त्यही कमजोरीमा टेकेर हामीलाई सधैँ अस्थिर बनाउँदै आफ्नो फाइदा लिन्छन् ।
देश बिग्रनुमा तपाईँ हाम्रो पनि दोष छ। हामी अलि व्यक्तिवादी स्वार्थ बोकेका नेपाली हौँ। हामीलाई देश होइन हाम्रो स्वार्थ पुरा गरिदिने नेता वा पार्टी चाहिएको छ। त्यही स्वार्थको कारणले गर्दा हामी सधैँ पार्टीको झोले भएर उसको गुणगान गाउन थाल्छौं। नेताले हाम्रो सीमित स्वार्थमा टेकेर असमित फाइदा लुट्दै देशलाई कंगाल बनाएका छन् । आज नेपालमा नागरिक समाज ,पत्रकार , पुलिस प्रशासन, अधिकारकर्मी, बाद्धिक व्यक्ति यस्ता अनेक,अनेक संस्थाभित्र वा व्यक्तिभित्र व्यक्तिगत लोभ भएका मानिसको कारणले गर्दा नै उनीहरुले हामीमाथि राज गरेका हुन् ।
आजको सूचना प्रविधिको जमानामा हामीसँग हजारौं तथ्य र प्रमाण छन कि देश कस्ले सक्यो भनेर। म त्यो प्रमाण र तथ्य यहाँ दिन चाहन्न। म यति मात्र भन्न चाहन्छु कि अब हामी सचेत भएर निर्णय गरौं। हो लोभ र स्वार्थ त्याग्न गाह्रो छ । पैसा र अवसरको मुख कालो हुन्छ तर कति दिन हामीले हाम्रो आत्म बेच्दै आफ्नो स्वार्थको कारण देशलाई अस्थिर बनाउने ?
नेपालको राजनीति मुख्यत चार किसिमले चलेको छ। पहिलो( दलाल र पुँजीपति वर्ग, दोस्रो (अन्धभक्त कार्यकर्ता, तेस्रो (विदेशी शक्ति र चौथो (सचेत वर्ग । अब यो देश सचेत नेपाली नागरिकले चलाउनुपर्दछ। त्यो चाबी तपाईं हाम्रो हातमा छ। आज हेर्नुस त काठमाडौँ, धरान र धनगढीका जनताले आफ्नो सचेतनादद्धारा फेरिदिएको निर्णयले देशलाई कति फाइदा भएको छ। हामीले आफ्नो स्वार्थ त्याग्न सक्ने रहेछौं भन्ने यो महान उदाहरण होइन र ? अब भन्नुस मेरो देश को आए बन्ने हो ?
यो लेखको उदेश्य सचेतना जगाउने र जागरुकता ल्याइदिने मात्र हो। सूचना त तपाईं हामीसँग छँदै छ नि देश कस्ले सक्यो भनेर। अब देश को आए बन्ने हो ? यो निर्णय तपाईं हाम्रो हातमा छ प्रिय पाठक।
लेखक: लक्ष्मण शर्मा घोराही उपमहानगरपालिका, दाङ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस