दाङ,१४ मंसिर ।दाङको तुलसीपुरमा महिला सहकारी संस्थाहरूसँग छलफल गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत बिहिबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रभित्र रहेका ११ वटा महिला बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यहरूसँग छलफल गरिएको हो।
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको विशेष उपस्थितिमा सहकारी संस्थाहरूको अवस्था समस्या र सहकारी संस्थाहरूले हिंसा निवारणको क्षेत्रमा गर्दै आएका काम गतिविधिका बारेमा छलफल गरिएको थियो।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा भएको छलफलमा सहभागीहरूले सहकारी संस्थाले महिलाको प्रतिष्ठा वृद्धि गर्न निकै महत्त्वपूर्ण भूमिका खेलेको बताएका थिए।
महिलालाई आर्थिक, सामाजिक ,राजनैतिक क्षेत्रमा मात्र नभई उनीहरूको बौद्धिक विकासका लागि पनि सहकारी संस्था उत्तिकै महत्वपूर्ण रहेको उनीहरुले बताएका थिए।
छलफलमा उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीले सहकारी संस्थाको माध्यमबाट थुप्रै महिलाहरू सामाजिक क्षेत्रमा सक्रिय बन्दै गएको बताएकी थिइन्।
समाजको समृद्धिका लागि सहकारी संस्था निकै महत्वपूर्ण रहेको भन्दै हरेक समुदाय यस क्षेत्रसँग जोडिनुपर्ने उल्लेख गरिन्। उपमहानगरपालिकाभित्र रहेका केही सहकारी संस्थाहरूले हिंसा निवारणको क्षेत्रमा समेत काम गर्दै आइरहेको बताउँदै समतामूलक र हिंसामुक्त समाज निर्माणका लागि यस्ता खाले संस्थाहरु चलायमान बन्नुपर्ने उनको भनाइ थियो।
सकारात्मक सोचका साथ यज्ञबद्ध भएर अगाडि बढे लैङ्गिक हिंसा मुक्त नगर बनाउन सकिने उनको भनाइ रहेको थियो।
छलफलमा महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख श्रेष्ठले महिलाहरूलाई घरबाट निकाल्ने काम भएपनि सहज परिस्थिति पनि अझै नभएको बताएकी थिइन्। महिलाको क्षमता विकास र उनीहरूको आर्थिक विकासका लागि सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताएकी थिइन्।
महिलालाई विकासमा जोड्नका लागि सहकारी महत्त्वपूर्ण रहेपनि सरकारले महिला सहकारी संस्थाहरुलाई हेर्ने दृष्टिकोणमा भने परिवर्तन नभएको उनले बताइन्।
तुलसीपुर उपमहानगरपालिकाले संयुक्त हस्तारण गरेका नौवटा महिला सहकारी संस्था र अन्य दुईवटा गरी ११ सहकारी संस्थाहरूसँग छलफल गरिएको थियो।
छलफलका क्रममा महिला सहकारी संस्थाका पदाधिकारी एवं सदस्यहरूले हिंसा विरुद्ध आफूहरू प्रतिबद्ध रहेको बताएका थिए।
साथै सहकारी संस्थाका गुनासा समस्या समाधान र सम्बोधनका लागि उपमहानगरपालिकाले थप कदम चाल्नुपर्ने मागसमेत गरेका थिए। १६ दिने लैङ्गिक हिंसाको अभियानमा मात्र नभई वर्षौंभरि हिंसा विरुद्ध एकजुट हुने काम सहकारी मार्फत भइरहेको उनीहरूको भनाइ थियो।
छलफलका अवसरमा सहकारी संस्थाको उननयन ,महिलाको क्षमता विकासमा सहकारीको भूमिका लगायतका विषयमा चर्चा समेत गरिएको थियो।
सो अवसरमा न्यायिक समिति सदस्य लालमती भण्डारी, वडा नम्बर १३ कि वडा सदस्य ,विष्णु शर्मा सहकारी विकास शाखा प्रमुख ललित घर्ती लगायतकाको उपस्थिति रहेको थियो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस