रोयल च्यालेन्जर्स बेंगलोरले साविक विजेता तथा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई २ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) १४ औं संस्करणमा रोमाञ्चक विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय ६० रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । बेंगलोरको जितमा उत्कृष्ट प्रदर्शन गरेका एवि डी भिलियर्स २७ बलमा ४ चौका र २ छक्का सहित ४८ रनमा रन आउट भए । अन्तिम बलमा हर्षल पटेलले एक रन जोड्दै बेंगलोरालाई रोमाञ्चक जित दिलाएका थिए ।
बेंगलोरले स्पिनर वासिन्टन सुन्दर र विराट कोहलीका साथ खेलमा ओपनिङ गराएको थियो । तेस्रो विकेटका लागि विराट कोहली र ग्लेन म्याक्सवेलले ५२ रनको साझेदारी गर्दै इनिङलाई उकासेका थिए । कोहलीलाई १३ औं ओभरको तेस्रो बलमा जस्पित बुमराहले ३३ रनमा एलबिडब्लू आउट गरे । कोहलीले २९ बलमा ४ चौका प्रहार गरे ।
ग्लेन म्याक्सवेल २८ बलमा ३ चौका र २ छक्का सहित ३९ रनमा क्याच आउट भए । म्याक्सवेललाई दक्षिण अफ्रिका युवा तीव्र गतिका बलर मार्को जानसेनले क्रिस लिनबाट क्याच आउट गराएका थिए ।
त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । मुम्बईका ओपनर क्रिस लिनले सर्वाधिक ४९ रनको योगदान दिए ।
दोस्रो विकेटका लागि लिन र सूर्यकुमार यादवले ४४ बलमा ७० रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
मुम्बईले दोस्रो खेल १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले आफ्नो दोस्रो खेल १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने छ । – एजेन्सी
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस